काठमाडौ- नेपालले महिला तथा बालबालिकाके पाेषणमा हासिल गरेका उपलब्धी असमानता र कोभिडका कारण जोखिममा परेकाे युनिसेफले जनाएकाे छ।
विगत तीन दशकमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर युनिसेफले सार्वजनिक गरेको ‘मातृ तथा बाल पोषण’को विशेषांकमा नेपालले अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतिहरूको सामना गरिरहेको तथा दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्युनिकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकहरू अनुसार ‘आवश्यक गतिमा’अघि नबढिरहेको र कोभिड-१९ महामारीले गर्दा यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको उल्लेख छ।
देशभरीका स्वास्थ्य चौकी र अस्थायी स्वास्थ्य केन्द्रहरूमा, खासगरी महिला स्वयंसेविकाहरूको परिचालनमा गरिएको लगानीले उल्लेखनीय संख्यामा बालबालिकासम्म भिटामिन ए कार्यक्रम र गर्भवती महिलाहरूसम्म आइरन चक्की र फोलिक एसिड पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकाे भएपनि काेभिडका कारण यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको युनिसेफले उल्लेख गरेकाे छ।
साथै, सहश्राब्दी विकास लक्ष्यको अवधिमा बालबालिकाको शिक्षा तथा सरसफाईको क्षेत्रमा गरिएको लगानीले पनि बालबालिकाको सर्वाङ्गीण विकासमा बल पुर्याएको र यसको अतिरिक्त, मानिसको जीवन चक्रको अवधिभर पोषणलाई सुदृढ बनाउन बहुक्षेत्रीय पोषण योजनाले बहुक्षेत्रीय र बहुसरोकारवाला कार्यहरूलाई निर्देशित गरेको छ, जसले पोषणमा हासिल भएको प्रगतिमा योगदान पुर्याएको युनिसेफले जनाएकाे छ।
सहश्राब्दी विकास लक्ष्यको शुरुवाति समयको तुलनामा नेपालसँग आज धेरै फरक खालका नीति तथा कार्यक्रमहरू रहेके र पोषण सम्बन्धी राष्ट्रिय र विश्वस्तरका परिमाणात्मक लक्ष्य हासिल गर्ने प्रयासको क्रममा नयाँ अवसर तथा चुनौतिहरू पनि थपिएके युनिसेफले जनाएकाे छ।
नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले पोषण विशेष र पोषण संवेदनशील हस्तक्षेप वृद्धि गरी आमा, किशोरकिशोरी तथा बालबालिकाको पोषणको प्रवद्र्धन गर्न उपयोगी हुने तर यस महामारीले महिला तथा बालबालिकाको पोषणमा पारेको असरलाई ध्यानमा राख्दै हामीले तत्काल नै कदम चाल्नुपर्ने बताए।
नेपालका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन युनिसेफले सरकार र साझेदारलाई बालबालिका, किशोरकिशोरी र आमाका लागि पोषणयुक्त, सुरक्षित, सुलभ र दिगो आहारको पहुँचमा सुधार, पोषणयुक्त आहार सुनिश्चित गर्नमा विभिन्न आर्थिक, सामाजिक र भौतिक बाधा हुने भएकाले खाना, स्वास्थ्य, पानी तथा सरसफाइ, शिक्षा र सामाजिक संरक्षण सबै समेट्ने बहुप्रणालीको आवश्यकतामा जोड दिएको छ।
सुविधामा आधारित स्वास्थ्यकर्मीको मौजुदा प्लाट्फर्म–जस्तै परिवार नियोजन, गर्भवती परीक्षण, प्रसूति सेवा र प्रसूतिपश्चात् आमा र शिशुको हेरचाहमा अत्यावश्यक पोषण सेवा एकीकृत गर्ने र अझै धेरै महिला तथा बालबालिकासम्म पुग्न महिला स्वास्थ्य स्वयंसेविकामार्फत समुदायमा आधारित पोषण सेवाको सुदृढतालाई निरन्तरता दिने पनि आग्रह गरिएको छ।
शिशु तथा साना बालबालिकालाई खाना खुवाउने र ठूला बालबालिका, किशोरकिशोरी र महिलाको आहारमा सुधार ल्याउन उनीहरुको हेरचाहकर्तासम्म यथार्थ जानकारी, सल्लाह र परामर्श सेवा पु¥याउन बहुसञ्चार माध्यमको प्रयोग गर्न पनि युनिसेफले आग्रह गरेको छ ।
पोषण कार्यक्रम र सेवासम्बन्धी योजना बनाउन आवश्यक बजेटको व्यवस्था गर्ने र सोहीको कार्यान्वयन र अनुगमन गर्न स्थानीय सरकारको नेतृत्व र व्यवस्थापन क्षमताको विकास गर्नुका साथै प्रगतिको मापनका लागि तथ्याङ्क, सूचना र प्रमाण सिर्जना गर्ने कार्यप्रति नेपालको प्रतिबद्धतालाई कायम राख्न पनि उसले आग्रह गरेको छ।
नेपालले स्वास्थ्य तथा पोषण सेवाको विस्तार, घरपरिवारको आम्दानीमा वृद्धि र अभिभावक शिक्षा तथा सरसफाइमा आएका सुधारका कारण दुई वर्ष मुनिका बालबालिकामा पुड्कोपन २४ प्रतिशतले घटेको (सन् १९९६ मा ५७ प्रतिशतबाट सन् २०१६ मा ३३ प्रतिशतमा झरेको) थियो।
सन् १९९६ र २०१६ को अन्तरालमा प्रारम्भिक स्तनपानको दर १८ प्रतिशतबाट ५६ प्रतिशत पुगेको थियो भने शिशुलाई पूरक खाना खुवाउने दर ५४ प्रतिशतबाट ७७ प्रतिशत पुगेको थियो
महिलाले गर्भावस्थामा पर्याप्तमात्रामा आइरन र फोलिक एसिड चक्कीको सेवन गर्ने दर सन् २००१ मा छ प्रतिशतबाट सन् २०१६ मा ७१ प्रतिशत पुगेको थियो।
कूल ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाको संलग्नता र सक्रियताका कारण समुदायमा आइरन चक्की तथा फोलिक एसिडको पहुँच र मागमा वृद्धि अएको थियो। यसका साथै बढ्दो सङ्ख्यामा महिलाले छिटो र नियमितरूपमा गर्भ परीक्षण गरेको पनि देखिएको थियो।
हालसालै, कोभिड-१९ महामारी एउटा मानवीय र अर्थ-सामाजिक संकट बनेको छ जसले विगतका पोषण सम्बन्धी उपलब्धीहरूलाई जोखिममा पारेको भन्दै शिशु तथा साना बालबालिकालाई खाना खुवाउने र ठूला बालबालिका, किशोर-किशोरीहरू र महिलाहरूको आहारमा सुधार ल्याउन उनिहरुको हेरचाहकर्ताहरूसम्म यथार्थ जानकारी, सल्लाह र परामर्श सेवा पुर्याउन बहुसञ्चार माध्यमहरूको प्रयोग गर्नअनुराेध गरेकाे छ।