काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज (सोमबार) स्वदेश फर्कने भएका छन्। गत असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए। उनी आज बेलुका ८ बजे नेपाल फर्किने उनका स्वकीय सचिव सन्तोष पुनले बताए।
केही समय पहिला नै चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका उनी पूर्ण रुपमा स्वस्थ्य भइसकेकाले स्वदेश फर्किन लागेको स्वकीय सचिव पुनले बताए। जण्डिस (बिलरुबिन)को मात्रा बढेपछि सुमेरु अस्पताल भर्ना गरिएको थियो।
स्वदेशमा उपचार सम्भव नभएपछि थाइल्याण्ड लगिएको हो। त्यहाँसमेत उपचार सम्भव नभएपछि सेनजेन लगिएको हो। यसअघि पार्टीको आठौं महाधिवेशनमा आउन खोजेपनि पूर्ण रुपमा निको नभएकाले रोकिएका थिए।