काठमाडौं- सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका पदाधिकारीलाई कामकाजमा रोक लगाउँदै उक्त स्थानमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवको टोलीलाई पठाएको छ। डा यादवको टोली आज धरानस्थित प्रतिष्ठानमा पुगेका छन्।
डा यादवसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारी पनि प्रतिष्ठानमा पुगेका छन्। सरकारले प्रतिष्ठानको आर्थिक क्रियाकलाप सञ्चालनका लागि कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एकजना उपसचिव पठाउने निर्णय गरेको थियो। सोही अनुसार डा यादवसँगै अधिकारीलाई पनि पठाइएको हो।
उनीहरुले प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले गर्ने काम गर्ने छन्। मन्त्रिपरिषदको पुसन ३० गतेको बैठकले प्रतिष्ठान सञ्चालन तथा प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न डा यादवको टोली पठाउने निर्णय गरेको थियो।
पदाधिकारीको हैसियतमा प्रतिष्ठान पुगेका डा यादवलाई प्रतिष्ठान तथा अस्पतालमा कार्यरत जनशक्तिलाई आवश्यकताअनुसार काममा लगाउने र अन्य कुनै खास कामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत जनशक्तिलाई काममा लगाउनु पर्ने भएमा मन्त्रालयको स्वीकृति लिई काममा खटाउन सक्ने अधिकार समेत प्रदान गरिएको छ।
प्रतिष्ठान तथा अस्पतालको बैंक खाता सञ्चालन भने डा. यादव र लेखा उपसचिव अधिकारको संयुक्त हस्ताक्षरबाट हुने छ।
सरकारले गरेको छानबिनका क्रममा प्रतिष्ठानका पदाधिकारीले पदिय मर्यादाविपरित काम गरेको पाइएपछि उनीहरुलाई कामकाजमा रोक लगाइएको हो। सरकारले छानबिन प्रतिवेदनका आधारमा पदाधिकारीलाई कारबाही गर्ने तयारी समेत अगाडि बढाएको छ।