काठमाडौं– चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी भएका छन्। शनिबारदेखि सोमबारसम्म भएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका हुन्।
आयोगका अनुसार परीक्षाको पहिलो दिन शनिबार एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९, आइतबार एमपिएच, एमएससिपिएच, एमपिएचएन, एमपिएचइ, एमपिएच म्यानेजमेन्ट, एमफिल् इन क्लिनिकल साइकोलोजिमा ७४८ र सोमबार एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससिएमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयमा १ हजार १४२ जनाले प्रवेश परीक्षा दिएका हुन्।
परीक्षाका लागि ८ हजार ६७१ जनाले आवेदन दिएका थिए। ती मध्ये ३२ जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।
आयोगले काठमाडौं उपत्यका बाहिर ४ वटा केन्द्र सहित ३९ परीक्षा केन्द्र तोकेको थियो।
पिजीको शनिबार भएको परीक्षामा आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अर्कैको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी, बिचौलिया र परीक्षामा अमार्यादित कार्य गर्ने तीन जना पक्राउ गरेको थियो।
आयोगले समग्रमा सबै केन्द्रमा परीक्षा व्यवस्थित रुपमा भएको निष्कर्ष निकालेको छ। आयोगले परीक्षा अगाडि प्रश्नपत्र बाहिरिएको भनेर गलत प्रचार भएको पनि जनाएको छ।