काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ। १६ अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले त्रिवि शिक्षण अस्पतालसहित पाटन अस्पताल,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र विर अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरेको छ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६/६ हजार सिटामोल वितरण गरिएको छ। त्यस्तै निजामती अस्पताल नयाँबानेश्वर,नेपाल प्रहरी अस्पताल महाराजगन्ज,वीरेन्द्र सैनिक अस्पताल छाउनी,भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई ५/५ हजार सिटामोल वितरण गरिएको छ ।
त्यस्तै गंगालाल हृदयरोग केन्द्रलाई २ हजार,भक्तपुर क्यान्सर अस्पताललाई २ हजार, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरलाई २ हजार,आयुर्वेद अस्पताल नरदेवीलाई २ हजार र राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्र किर्तीपुरलाई ३ हजार सिटामोल वितरण गरिएको छ।
महामारीको समयमा बजारमा सिटामोलको अभाव भएको थियो। मंगलबार सर्वोच्च अदालतले पनि अत्यावश्यक औषधिमा पर्ने सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता टीकाबहादुर कुँवरसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो।
नागरिकलाई सिटामोललगायतका अत्यावश्यक औषधि उपलब्ध गराउने काम सरकारको भन्दै सर्वोच्चले आवश्यक व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ। देशभर सिटामोलको हाहाकार भइरहेको भन्दै रिटमा अन्तरिम आदेश मागदाबी गरिएको थियो।
हेर्नुहोस कुन अस्पताललाई कति?