काठमाडौं– चिकित्सा शिक्षा आयोगले लिएको स्नातकोत्तर तह (पिजी)को एकीकृत प्रवेश परीक्षाको उत्तरपुस्तिका संकलन भइरहेको आयोगले जनाएको छ।
काठमाडौं उपत्यका बाहिरका ४ स्थान सहित ३९ परीक्षा केन्द्रमा भएको परीक्षाको उत्तरपुस्तिका संकलन भइरहेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
डा गिरीका अनुसार नेपालगञ्जबाट उत्तरपुस्तिका आइरहेको र मंगलबार रातीसम्ममा सबै ठाउँको उत्तरपुस्तिका आयोगमा आइपुग्ने छ।
आयोगले बुधबारदेखि उत्तरपुस्तिका हेर्न सुरु गर्नेछ। उत्तरपुस्तिका परीक्षणका लागि ३ दिनसम्म लाग्न सक्ने र दुर्गमका कार्य गरेका चिकित्सकहरुको विवरण पनि हेर्नुपर्ने भएकाले नतिजा आउन केही समय लाग्ने डा गिरीको भनाइ छ।
‘उत्तरपुस्तिका जाँच्न २,३ दिन लाग्ला, एकसातासम्ममा नतिजा आउनसक्छ,’ उनले भने, ‘दुर्गममा काम गर्नेहरुको विवरण हेरेर सोही अनुसार नतिजा निकाल्नुपर्ने हुन्छ। त्यसैले केही समय लाग्छ।’
आयोगले गत शनिबारदेखि सोमबारसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए।
परीक्षाको पहिलो दिन शनिबार एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९, आइतबार एमपिएच, एमएससिपिएच, एमपिएचएन, एमपिएचइ, एमपिएच म्यानेजमेन्ट, एमफिल् इन क्लिनिकल साइकोलोजिमा ७४८ र सोमबार एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससिएमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयमा १ हजार १४२ जनाले प्रवेश परीक्षा दिएका हुन्।
परीक्षाका लागि ८ हजार ६७१ जनाले आवेदन दिएका थिए। ती मध्ये ३२ जनाको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।