काठमाडौं- डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीमाथिको आक्रमण आयोगको काममा भाँजो हाल्ने प्रयास भएको बताएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै डा केसीले आयोगका पदाधिकारीमाथि सांघातिक हमलाको प्रयास गर्नेहरुलाई तत्काल पहिचान गरी कानुनअनुसार कडा दण्ड दिन सरकारसँग माग गरेका छन्।
आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीमाथि हिजाे कार्यालय जाने बेला आक्रमण भएकाे थियाे।
'नेपाली जनताको शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, विपन्न लगायत सवै विद्यार्थीको शिक्षामा समान पहुँच, सवै नेपालीहरुको गुणस्तरीय, निशुल्क वा सस्तो र सुलभ स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न चिकित्सा शिक्षा ऐन जारी भएको र त्यसै अनुरुप चिकित्सा शिक्षा आयोग गठन भएको भन्दै केसीले विभिन्न मेडिकल माफिया, बिचौलिया र दलालहरुको नाजायज हस्तक्षेप आयोगमाथि पर्न थालेको बताएका छन्। आयोग र चिकित्सा शिक्षा ऐनको असफलताका लागि मरिमेटेका विभिन्न स्वार्थ समुहहरुले आयोगको काममा भाँजो हाल्ने प्रयास शुरुदेखि नै गर्दै आएका छन्। पछिल्लो समय फेरि एकपल्ट आयोगका पदाधिकारीमाथि सांघातिक हमलाको प्रयाससमेत भएको छ। त्यस्तो भौतिक आक्रमण गर्नेहरुलाई तत्काल पहिचान गरी कानुनअनुसार कडा दण्ड दिन हामी सरकारसित माग गर्दर्छौं।' उनले विज्ञप्तिमा भनेका छन्।
उनले विभिन्न मेडिकल माफियाले आयोगप्रति विभिन्न अपवाह फैलाउन थालिएको समेत बताएका छन्। 'उनीहरुले हालै प्रश्नपत्र बाहिरिएको लगायत विभिन्न अफवाह फैलाएर स्नातकोत्तर तहको प्रवेश परीक्षा रोक्न हरसम्भव प्रयास गरेका थिए। त्यसका लागि सुनियोजित मिडियावाजी तथा सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेका थिए। त्यसमा सफल नभएपछि भइसकेको परीक्षाको नतिजा रोक्न उनीहरुले हरसम्भव प्रयास गरिरहेका छन्। त्यो प्रयास पनि असफल हुन थालेको समयमा आयोगका उपाध्यक्षको गाडीमाथि आक्रमण हुनु संयोग मात्रै भन्न गाह्रो छ।' उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न तथा विदेशमा पढाइ शुरु गरेका विद्यार्थीहरुलाई कानुनविपरीत नेपालमा पढाउने व्यवस्थाका लागि आयोगलाई नाजायज दबाब नदिन पनि आग्रह गरेका छन्।