काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिसको तयारी भएको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन जनाको नाम सिफारिस गर्ने भएका छन्।
स्वास्थ्यमन्त्री खतिवडा उपकुलपति सिफारिस समितिका संयोजक समेत हुन्। उनले समितिले छनोट गरेका तीन जनाको नाम कुलपति समक्ष पेश गर्न लागेका हुन्।
समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्येबाट डा रामेश कोइराला, डा ऋषिकेश नारायण श्रेष्ठ र डा नारायण विक्रम थापालाई सिफारिस गर्ने तयारी गरेको हो।
'समितिले तीन जनाको नाम छनोट गरिसकेको छ', मन्त्री निकट स्रोतले स्वास्थ्यखबरसँग भन्यो, 'अब मन्त्रीज्यूले हस्ताक्षर गरेर प्रधानमन्त्रीकहाँ बुझाउनु हुन्छ।'
प्रतिष्ठानका कुलपति प्रधानमन्त्री देउवाले तीन जनामध्ये एक जनालाई उपकुलपति नियुक्त गर्नेछन्।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए। उपकुलपति सिफारिस समितिले माग गरे अनुसार १६ जनाले उपकुलपतिका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका थिए। आवेदन दिएकामध्ये समितिले तीन जनालाई छनोट गरेर सिफारिस गरेको हो।
समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला सदस्य छन्।
यी हुन् आवेदन दिनेहरु
प्राडा संगीता भण्डारी
डा विकास लामिछाने
डा पवनजंग रायमाझी
डा प्रदीप घिमिरे शर्मा
डा भुमेश्वर आचार्य
प्राडा राजेन्द्रराज वाग्ले
डा जितनारायण यादव
डा विश्वनाथ यादव
डा रामेश कोइराला
प्राडा रेवतीरमण मल्ल
प्राडा नारायण विक्रम थापा
डा प्रवीण श्रेष्ठ
डा लक्ष्मीनारायण सिंह
डा सन्जयकुमार ठाकुर
डा ऋषिकेशनारायण श्रेष्ठ
डा प्रवोध रेग्मी