काठमाडौं- ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी र यूरोगाइनेकोलोजी सम्बन्धी कार्यशाला काठमाडौमा सुरु भएको छ। कार्यशाला नेपाल प्रसुती तथा स्त्रीरोग विशेषज्ञ समाज(नेसोग), किल विश्वविद्यालय (जर्मनी) तथा सक्सेना मल्टीस्पेसालिटी हस्पिटल (सिमिस्ट), भारतको संयुक्त आयोजनामा भएको हो।
कार्याशालाको उद्घाटन नेसोगका अध्यक्ष प्रोफेसर गणेश दगांल, किल विश्वविद्यालयका प्रोफेसर लिलो मेटलर र सिमिस्टका प्रोफेसर अखिल सक्सेनाले गरेका थिए।
ल्याप्रेस्कोपी, हिस्टेरोस्कोपीका कार्यशाला सम्पन्न भइसकेक छन भने आइतबार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा लाइभ सर्जरीमा ५ जना प्रशिक्षकहरुले दुर्विन पद्धतिबाट शल्यक्रिया गरेका छन्। यस्तै सोमबार काठमाडौं मोडेल अस्पतालमा लाइभ सर्जरी गरिनेछ।
कार्यशालामा जर्मनी, भारत तथा पाकिस्तान आदि राष्ट्रका विशेषज्ञहरुको सहभागीता रहेको छ। कार्यशालामा ३६ कार्यपत्र प्रस्तुत भएका छन्। कार्यशालामा देश तथा विदेशकासहित ३५ जना र १० जना बरिष्ठ प्रशिक्षक डाक्टरहरु सहभागी छन्।