काठमाडौं– भक्तपुरको नागरिक सामुदायिक अस्पतालले एक वर्षमा ९२ हजार ५ सय १९ बिरामीलाई सेवा दिएको जनाएको छ।
कोरोनाको कारण सेवा लिने बिरामीको संख्यामा कमी आएको अस्पतालले जनाएको छ। उपचार सेवा लिन आउने बिरामीलाई १६ लाख ६ हजार रुपैयाँ बराबरको उपचार निःशुल्क प्रदान गरेको अस्पतालका सञ्चालक समिति सदस्य जितेन्द्र श्रेष्ठले बताए।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न, गरिब, दुर्गमका गरिब विरामी, असाह्य, अपाङ र जेष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको जनाएको छ।
मध्यपुरथिमी गठ्ठाघरको समुदायस्तरबाट सञ्चालित अस्पतालको तेह्रो वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको छ।
समितिमा शैलेन्द्र मोहन झा, सुरेशबहादुर श्रेष्ठ, नागेन्द्र झा, जितेन्द्र श्रेष्ठ, भुवनचक्र जोशी, श्रीभक्त कासिछवा, नविनचन्द्र श्रेष्ठ, डा.श्वेता झा, सुभद्रा श्रेष्ठ चयन भएका हुन्।
अधिवेशनले शान्ति प्रधानाङ र अरुणकुमार पाण्डेयलाई मनोनित गरेको श्रेष्ठले बताए। समितिको आगामी पूर्ण बैठकले पदाधिकारी चयन गर्नेछ। साधारणसभामा शैलेन्द्र मोहन झाले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७६/०७७ मा चुक्ता पूजी १९ करोड ५१ लाख २७ हजार रहेकोमा ०७७÷०७८ मा १ करोड ६९ लाख बृद्धि भएको बताए।