काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ का बिरामी घट्न थालेका छन्।
पुसको अन्त्यबाट बढ्न थालेको बिरामीको संख्या केही दिनयता घट्न थालेको अस्पतालले जनाएको छ। रुघाखोकी र ज्वरोको समस्या लिएर दैनिक २५ देखि ३० जना फिभर क्लिनीकमा पुग्ने गर्दथे। हाल दैनिक २० जनाभन्दा कम बिरामीहरु मात्र फिभर क्लिनीकमा आउने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। तर अस्पतालमा भर्ना हुने बिरामीको संख्या भने स्थिर छ। ७ आइसीयू, ३ भेन्टिलेटरमा गरी १८ जना संक्रमित भर्ना भई उपचाररत रहेको अस्पतालले जनाएको छ।
सूचना अधिकारी गौतमले भने, ‘दुई साताअघि फिभर क्लिनीकमा आउनेको बिरामीको संख्या २५ भन्दा बढी हुन्थ्यो। अहिले २० भन्दा कम छन्। अघिल्लो हप्ताको बिहीबार र शुक्ररबारको चापलाई हेर्दा कम भएको देखिन्छ।’
शुक्रराज अस्पतालमा पिसिआर परीक्षण गराउन आउने बिरामीको संख्यामा पनि कमी आएको छ। एकैदिन साढे ३ सयभन्दा पिसिआर गरेको अस्पतालमा हाल २ सयको हाराहारीमा पिसिआर हुने गरेको छ।
शुक्रबार अस्पतालमा १९१ जनाले पिसिआर गराएकोमा ५३.६८ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। बिहीबार २१८ जनाको पिसिआर हुँदा १०३, बुधबार २१५ जनाको पिसिआर हुँदा १०९, मंगलबार २२३ जनाको पिसिआर हुँदा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म ९० हजार ३७५ जनाको पिसिआर परीक्षण गरिएको अस्पतालले जनाएको छ।