काठमाडौं– चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता आइतबार प्रकाशित हुँदैछ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।
नतिजा प्रकाशित गर्न आयोगले अन्तिम तयारी पुरा गरिसकेको छ। आयोगले आफ्नो वेभसाइडमा पिजी प्रवेश परीक्षाको नतिजा प्रकाशित गर्नेछ।
‘पिजीको नतिजा प्रकाशित गर्ने तयारी भइरहेको छ,’ आयोगका एक कर्मचारीले भने, ‘आजै बेलुका सम्ममा नतिजा आयोगको वेभसाइडमा प्रकाशित गर्ने तयारी भइरहेको छ, कुनै प्राविधिक समस्या आएन भने आजै प्रकाशित हुन्छ।’
आयोगले माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका थिए।
परीक्षाको पहिलो दिन ८ गते शनिबार एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९, ९ गते आइतबार एमपिएच, एमएससिपिएच, एमपिएचएन, एमपिएचइ, एमपिएच म्यानेजमेन्ट, एमफिल् इन क्लिनिकल साइकोलोजिमा ७४८ र १० गते सोमबार एमडिएस, एमफार्म, एमएस्सी फार्मेसी, फार्म डि, एमएससिएमआइटी, एमएससी माइक्रोबायोलोजी लगायतका विषयमा १ हजार १४२ जनाले प्रवेश परीक्षा दिएका थिए।
परीक्षाका लागि ८ हजार ६७१ जनाले आवेदन दिएका थिए। ती मध्ये ३२ जनाको परीक्षा रद्द गरिएको थियो।