काठमाडौं - बेवास्ता गरिएका रोगहरुलाई उपेक्षित रोग भनिन्छ। उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्।
कुनै कालखण्डमा यी रोगहरु उपेक्षित थिए। यो रोगको बारेमा कुनै पनि किसिमको बहस तथा वकालत हुँदैन थियो। गरिबी, अशिक्षा र अज्ञानतासँग जोडिएर हेर्ने गरिन्थ्यो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यी रोगहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वकालत सुरु गर्यो। र, २० वटा उपेक्षित उष्णप्रदेशीय देशहरुमा पाइने रोगहरुको सूचीकृत समेत गर्यो।
यी रोगहरु विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवि, फंगी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ। विश्वव्यापी रुपमा एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लुएचओको तथ्यांक छ।
डब्लुएचओले सूचीकृत गरेका २० उपेक्षित उष्णप्रदेशीय रोगहरु
१. डेंगु र चिकनगुनिया
२. रेबिज
३. ट्रकोमा (खस्रे रोग)
४. बुरुली अल्सर
५. यज
६. कुष्ठरोग (लेप्रोसी)
७. चागस रोग
८. हयुमन अफ्रिकन ट्रीपानोसोमियासीस (स्लीपिंग सिकनेस)
९. कालाजार (भिसेरल लेशम्यानियासिस)
१०. टेनियासिस र न्यूरोसिस्टीसर्कोसिस
११. ड्राकुनकुलियासिस (गिनिया वोर्म रोग)
१२. इसिनोकोकोसीस
१३. खाना जन्य ट्रीम्याटोडीयासिस
१४. हात्तीपाइले (लिम्फ्याटिक फाइलेरियासिस)
१५. ओंकोसर्सियासिस (रिभर अन्धोपना)
१६. सिस्टोसिसोमियासिस
१७. माटोबाट सर्ने जुका
२०१७ मा नयाँ थप गरिएका रोग
१८. माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अरु डिप माइकोसेस
१९. सर्पदंश
२०. लुतो र अरु इक्टोपारासाइट
यी २० मध्ये नेपालमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, टेनियासिस र न्यूरोसिस्टिसरकोसिस, लुतो र अरु इक्टोपारासाइट, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसीस र अरु डिप माइकोसेस जस्ता उपेक्षित उष्णप्रदेशीय रोगहरु समस्याको रुपमा रहेका छन्।
यसमध्ये पनि कालाजार, कुष्ठरोग, हात्तीपाइले, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका र ट्रकोमा (खस्रे रोग) नेपालमा पाइने मुख्य आठ उपेक्षित उष्णप्रदेशीय रोगहरु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सिनियर मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त ओझाले बताए। यी रोग निवारणका लागि सरकारले बजेटको व्यवस्था गरी विभिन्न कार्यक्रम समेत गर्ने गरेको छ। ट्रकोमा रोग भने निवारण भइसकेको छ।
नेपालमा पाइने मुख्य उपेक्षित उष्णप्रदेशीय रोगहरुको अवस्था
१. कालाजार
पछिल्लो दुई दशकमा कालाजार बिरामीको संख्यामा कमी आई दुई हजारबाट दुई सयमा झरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यद्यपि नयाँ जिल्लाहरुबाट बिरामीको विवरण प्राप्त भइरहेको र केही जिल्लामा यो प्रकोपको रुपमा समेत देखा परेको छ। कालाजारलाई जनस्वास्थ्यको समस्याको रुपमा निवारण गर्ने सरकारको लक्ष्य छ। सरकारले यातायात खर्च सहित औषधि, रोग निदान र उपचारमा आवश्यक सामग्री नि:शुल्क प्रदान गर्दै आएको छ। ओखलढुंगा, कालिकोट जिल्लामा अझै पनि कालाजारको प्रकोप छ।
२. कुष्ठरोग
सन् २०१० मा यो रोगलाई राष्ट्रियस्तरबाट जनस्वास्थ्यको समस्याको रुपमा निवारणको घोषणा गरिएको थियो। गत आर्थिक वर्ष २०७७/७८ मा शून्य दशमलव ७३ प्रिभ्यालेन्स दर र २ हजार १७३ कुष्ठरोग लागेकाको पहिचान गरिएको महाशाखाले जनाएको छ। कुष्ठरोग सर्ने प्रक्रिया अवरुद्ध गर्ने लक्ष्य रहेको सकारले उपचार सकिएपछि यातायात खर्च सहित कुष्ठरोग विरुद्धको औषधि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।
३. हात्तीपाइले
हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याको रपमा निवारण गर्ने सरकारको लक्ष्य छ। महाशाखाका अनुसार ६३ इन्डेमिक जिल्लामध्ये ५३ जिल्लामा ट्रान्समीसन असेस्मेन्ट सर्वेपछि आम औषधि सेवा बन्द गरिएको छ। र, १० जिल्लामा अहिले पनि आम औषधि सेवन जारी छ। झापा, मोरङ, बारा, लमजुङ, बागलुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधि सेवन बन्द हुन सकेको छैन।
सरकारले डीइसी र अल्बेन्डाजोल प्रयोग गरेर आम औषधि सेवन गराइरहेको छ। यसवर्षदेखि भने पाँच जिल्लामा नयाँ औषधि आइभरमेक्टिन पनि थप गरी तीन थरिका औषधि सेवन गराइने महाशाखाजाले जनाएको छ। यी औषधिहरु सरकारले निशुल्क उपलब्ध गराउँछ।
४. डेंगु
नेपालमा सन् २००४ मा डेंगुको पहिलो केस पत्ता लागेको थियो। त्यस यता वर्षेनी डेंगुका बिरामीहरु बढीरहेका छन् भने केही जिल्लामा यो प्रकोपको रुपमा समेत देखिने गरेको छ। ६५ भन्दा बढी जिल्लाहरुमा अझै पनि डेंगुको समस्या देखिएको छ।
५. रेबिज
रेबिज रोग सरकारले प्राथमिकीकरण गरेको सूचीको दोस्रो नम्बरमा छ। यो रोग शतप्रतिशत रोकथाम गर्न सकिने रोग पनि हो। रेबिज लागेको संक्रमित जनावरले टोक्दा या उनीहरुको र्याल चोटपटक वा घाउँमा पर्दा सर्छ। स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा रेबिज हुन्छ। तर ९९ प्रतिशत रेबिज कुकुरको टोकाइका कारण हुन्छ। गत आर्थिक वर्षमा ५२ हजार ६१० कुकुरको टोकाइ महाशाखामा रिपोर्ट भएको थियो। कुकुरको टोकाइबाट मानिसमा हुने रेबिज निवारण गर्ने सरकारको लक्ष्य छ। रेबिज निवारणका लागि सरकारले निशुल्क रेबिज खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।
६. सर्पदंश
नेपालमा पाइने मुख्य उपेक्षित उष्णप्रदेशीय रोगमध्ये सर्पदंश पनि एक हो। यसको नियन्त्रणका लागि प्रतिविच उपचार र नियन्त्रण सम्बन्धी जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको महाशाखाले जनाएको छ।
७. माटोबाट सर्ने जुका
माटोबाट सर्ने जुकाको समस्या नेपालमा हाल नियन्त्रणमा छ। बालबालिका र गर्भवतीलाई जुकाको औषधि खुवाउने सरकारको कार्यक्रम छ। यसका लागि सरकारले जुकाको औषधि निशुल्क उपलब्ध गराउँदै आएको छ।
८. ट्रकोमा (खस्रे रोग)
यो रोग नेपालमा हाल निवारण भइरहेको छ। सन् २०१८ मा जनस्वास्थ्यको समस्याको रुपमा निवारण भएको डब्लुएचओले मान्यता समेत दिइसकेको छ।
सरकार भन्छ – नेपालमा यी रोग उपेक्षित छैनन्
विश्व स्वास्थ्य संगठनले यी रोगहरुलाई उपेक्षित उष्णप्रदेशीय रोगहरुको सूचीमा राखेपनि नेपालमा भने यी रोगहरु उपेक्षित नभएको सरकारको भनाई छ। महाशाखाका सिनियर मेडिकल सुपरिटेन्डेण्ट डा ओझा सरकारले यी आठ वटै रोगहरुलाई प्राथमिकताका साथ विभिन्न कार्यक्रम गरी निवारण गर्न लागिपरेको बताउँछन्।
उनी भन्छन्, ‘कुनै कालखण्डमा यी रोगहरु उपेक्षित थिए। कसैले यो रोगको बारेमा कुरा नै गर्दैन थिए। गरिबी, अशिक्षा, अज्ञानतासँग जोडिएर हेर्ने गरिएकाले डब्लुएचओले प्राथमिकतामा राख्नुपर्यो भनेर यसको बारेमा वकालत सुरु गर्यो। नेपालमा रहेका आठ वटा यी रोगहरु त्यति उपेक्षित रोगको रुपमा छैन।’
प्रत्येक रोगहरुको लक्ष्य राखेर सोही अनुसार रणनीतिक कार्ययोजना बनाएर काम भइरहेको उनले बताए। कालाजार, डेंगु, रेबिज लगायतका रोग निवारणका लागि सरकारले बजेटको व्यवस्था गरेको, औषधि खरिद गरेको, निशुल्क औषधि वितरणदेखि परीक्षण हुने भएकाले यी रोगहरुलाई नेपालको सन्दर्भमा उपेक्षित भन्न नमल्निे उनको भनाई छ।
‘हामीसँग कालाजारको राष्ट्रिय कार्यक्रम छ। कालाजारमा सरकारले बजेटको व्यवस्था गरेको छ। जनचेतना अभिवृद्धिका कार्यक्रमहरु हुन्छन्।’ उनले भने, ‘यी रोगहरु सरकारको प्राथमिकतामा छ। समस्या र चुनौती हरेक रोगमा छ। कुनै देशमा उपेक्षित होलान् तर नेपालमा छैन। यसको परिभाषा परिमार्जन गर्नुपर्छ।’
कार्यक्रम भए तर पर्याप्त छैन
सरकारले यी रोगहरुलाई उपेक्षित भन्न नमिल्ने बताएपनि यसका विज्ञ भने यो भनाईमा सहमत छैनन्।
उपेक्षित भनिएका यी रोगहरु निवारणका लागि सरकारले सञ्चालन गरेका कार्यक्रमहरु पर्याप्त नभएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
उनी भन्छन्, ‘यी रोगहरुका लागि कार्यक्रम र बजेटहरु पनि होलान्। छैन भन्दिन। त्यसो भए तुलना गरेर हेरौँ। नसर्ने रोग र सर्ने रोगमा कसरी फन्डिङ गरेको छ ? भएका कार्यक्रम सम्बन्धित ठाउँमा पुगेको छ/छैन, पर्याप्त मात्रामा चलायमान भएको छ/छैन महत्वपूर्ण कुरा हो।’
देशको एक मात्र केन्द्रीय सरुवा रोग अस्पताल हो, शुक्रराज अस्पताल। यहाँ डेंग, रेबिज लगायत सर्ने रोगहरुको उपचार हुन्छ। सरकारले यही अस्पतालको स्तरवृद्धि र विकास गर्न नसकेको उनको भनाई छ। वर्षेनी नयाँ नयाँ सर्ने रोगहरु देखिएपनि सरकारले पर्याप्त मात्रामा ध्यान दिन नसकेको उनको बुझाई छ।
उनले भने, ‘हामीले उपेक्षित रोगहरुमा नयाँ देखिएका रोगहरुको बारेमा सोचेको छैन जस्तो लाग्दैन। डेंगुको हाहाकार मच्च्दिा के भयो ? रेबिजले अझै पनि मानिसहरु मरिरहेका छन्। सर्ने रोगहरु एकै पटक धेरै फैलियो भने रोकथाम गर्न गाह्रो हुन्छ।’
सरकारले उष्णप्रदेशीय रोगलाई नसर्ने रोगलाई जस्तै प्राथमिकता दिनुपर्ने उनको सुझाव छ।