काठमाडौं- प्रदेश १ मा पनि स्वास्थ्य मन्त्रालय बन्ने भएको छ। प्रदेश प्रदेश १ सरकारले मन्त्रालय विस्तार गर्दै स्वास्थ्य मन्त्रालय पनि बनाउने निर्णय गरेको हो।
सरकारले हाल रहेका ७ वटा मन्त्रालय विस्तार गर्दै १२ पुर्याउने निर्णय गरेको छ। जसमा स्वास्थ्य मन्त्रालय पनि छुट्टै हुने उल्लेख छ।
हालसम्म प्रदेशमा स्वास्थ्यको काम सामाजिक विकास मन्त्रालयबाट हुँदै आइरहेको छ। तर अब भने स्वास्थ्य मन्त्रालयबाट हुने भएको हो।
प्रदेश मन्त्रिपरिषदको बैठकले हाल भएका ७ वटा मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी गरी चार वटा मन्त्रालयलाई विभाजन गर्दै १२ वटा पुर्याएको हो।
अब प्रदेशमा ती मन्त्रालय विभाजन गर्दै सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, भूमि, सहकारी तथा यातायात मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बन्ने भएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने यथावत राखिएको छ।
प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाउने यो चौथो प्रदेश हो। यसअघि लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना भइसकेका छन्।