काठमाण्डौँ- जापान सरकारले संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ) मार्फत नेपालमा खोप कोल्ड चेन प्रणालीको सवलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ।
अनुदान अन्तर्गत जापानले नेपालमा कोभिड-१९ विरुद्धको खोपको विस्तारको लागि ९ वटा वाक इन कुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सीन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड वक्सहरू जस्ता उच्च गुणस्तरीय उपकरणहरू सहयोग गरेको छ। यी उपकरणहरू गत वर्ष देखि नै देश भरी नै क्रमवद्धरुपमा आपूर्ति हुँदै आएका थिए। कोल्ड चेनको मर्मत तथा नियमित खोपको प्रभावकारी व्यवस्थापनको लागि आवश्यक मानव संसाधन विकास गर्नमा पनि यस अनुदान सहायताले सहयोग पुर्याएको छ।
'नेपालले हाल ओमीक्रोन भेरियन्ट सहितको कोभिड १९ को तेस्रो लहरको सामना गरिरहेको छ। जसले गर्दा नेपाल सरकारको लागि खोप अभियान सबै भन्दा प्राथमिकताको विषय बन्न पुगेको छ। खोप अभियानको समयमा खोपको उपयुक्त भण्डारण महत्वपूर्ण हुन्छ र यो सहायताको उद्देश्य भण्डारण र देश भरी खोपको वितरण को क्षमता उल्लेख्य मात्रामा वृद्धि गर्नु हो।' नेपालका लागि जापानी राजदूत किकुता युताकाले भने।
'उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो, तुलनात्मक रुपमा छिटो र कम खर्चमा स्थापित गर्न सकिने खालको छ, सौर्य उर्जाबाट सञ्चालित रेफ्रिजरेटरहरूले विद्यूतको आपूर्तिको अनियमितताबाट उत्पन्न समस्या समाधान गर्न उपयोगी हुन्छन् क्यारियर्स र बक्सहरू यातायातको सुविधा नभएका ठाउँमा खोप वितरणमा सहयोगी हुन्छन्।' किकुता भने, 'मलाई आशा छ यो सहायताले खोपको पर्खाइमा रहेका हरेक व्यक्तिसम्म खोप पुर्याउने कार्यलाई गति दिनेछ।'
कोभिड १९ विरुद्धका कार्यहरूलाई बल पु¥याउन जापानले हाल सम्म खोप, एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल र कोल्ड चेन उपकरणहरू उपलब्ध गराएको छ। यसका अतिरिक्त हालै आर्थिक पुनर्लाभ, आर्थिक वृद्धि र सामाजिक उत्थानशिलताको लागि नेपाल सरकारलाई दश विलियन जापानिज येन (करिव १०.४ अरब नेपाली रुपैया) समेत उपलब्ध गराउने जापान सरकारले निर्णय गरेको छ।
'देशै भरी खोपको प्रभावकारी आपूर्ति र भण्डारण जस्तो महत्वपूर्ण कार्यमा, विशेषगरी उच्च संक्रमण संख्यासँग जुधिरहेको अवस्थामा नेपाललाई उपलब्ध गराएको निरन्तर सहयोगको लागि हामी जापान सरकार प्रति कृतज्ञ छौँ,' नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भने। जापानको सहयोगबाट प्राप्त कोल्डचेन अहिलेको कोभिड-१९ विरुद्धको खोप अभियानको लागि मात्र उपयोगी नभइ बालबालिकालाई प्रदान गरिने नियमित खोप सेवालाई प्रभावकारी बनाउन पनि उपयोगी हुने उनले बताए।
नेपालमा युनिसेफले नियमित खोप सञ्चालनका लागि देशको भ्याक्सिन कोल्ड चेन प्रणालीहरू सबलीकरण गर्न नेपाल सरकार र साझेदार संस्थाहरूसँग मिलेर काम गर्दै आएको छ। कोभिड १९ को शुरुवातसँगै युनिसेफले देश भित्रको आपूर्ति श्रृंखला प्रणाली बलियो बनाउन र कोभिड-१९ विरुद्धको खोपहरूको व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने कोल्ड चेन क्षमताको सुनिश्चितताका लागि सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।
यसका साथै युनिसेफले नेपाललाई सिरिञ्जहरू उपलब्ध गराएर, कोभिड-१९ खोप विस्तार निर्देशिका विकास गर्न सहयोग गरेर, स्वास्थ्यकर्मीहरूलाई तालिम उपलब्ध गराउनुका साथै समूदायसँगै काम गर्दै खोप बारे सही सूचना प्रवाह गर्ने र जीवन बचाउन उपयोगी हुने खोपहरु र खोप उपलब्ध गराउने स्वास्थ्य संस्था प्रति विश्वास बढाउन पनि सहयोग गर्दै आएको छ।