चितवन- चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।
हाल ४१ जना कोभिडका बिरामी उपचाररत रहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्ण पौडेलले जानकारी दिए। भर्ना हुने बिरामीसँगै अस्पतालमा पीसीआर परीक्षण गर्नेको संख्यामा पनि कमी आएको उनले बताए। केही साता अघिसम्म तीन सय बढीले गराउँदै आएको पीसीआर हाल दुई सय तल झरेको अस्पतालले जनाएको छ। सोमबार मात्र १६९ जनाले कोरोना परीक्षण गराएका थिए।
अस्पतालमा भर्ना भएका अधिकांश बिरामीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता कम पर्ने गरेको डा पौडेलले बताए। गएको एक सातामा भरतपुर अस्पतालमा कोभिडका कारण ६ जनाको मृत्यु समेत भएको थियो।
उनले भने, ‘गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेका छन्। पीसीआर गराउनेको संख्या पनि कम भएको छ। दोस्रो लहरमा जस्तो गम्भीर खालका बिरामी कमै छन्। भर्ना भएकाहरुमा पनि अक्सिजन र भेन्टिलेटर चाहिने कमै छन्।’