भरतपुर- चितवनस्थित भरतपुर अस्पतालले छुट्टै प्रसुति भवन निर्माण गर्ने तयारी गरेको छ। प्रसूति सेवालाई अझ व्यवस्थित र सहज बनाउन भन्दै अस्पतालले छुट्टै भवन निर्माणको तयारी गरेको हो।
प्रसूति गराउने महिलाको चाप बढ्दै गएकाले सेवालाई थप व्यवस्थित बनाउन छुट्टै भवन आवश्यक परेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए। भवन निर्माणका लागि हाल डिपीआरको काम भइरहेको छ।
उनले भने, ‘छुट्टै प्रसुति भवन निर्माण गर्नका लागि हामीले डिपीआर गरिरहेका छौँ। यो भवन अति नै आवश्यक भयो। यहाँ प्रसुति गराउनेको संख्या पनि बढीरहेको छ। छुट्टै भवन भयो भने डेलिभरी, अपरेशन र त्यसपछिको हेरचाह सबै एकै ठाउँमा गर्न सहज हुन्छ। र, यसले सेवा थप प्रभावकारी र सहज पनि बनाउँछ।’
बर्थिङ सेन्टर सहितको छुट्टै दुई सय शय्याको प्रसुति भवन बनाउने अस्पतालको तयारी हो। भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अस्पतालले चार करोड बजेटका लागि निवेदन दिएको थियो। जसमध्ये मन्त्रालयले दुई करोड रुपैयाँ दिने भनिएपनि हालसम्म कुनै पत्र प्राप्त नभएको उनले बताए।
सरकारबाट बजेट प्राप्त नभए अस्पताल विकास समितिको रकमले भएपनि ५० शय्याको भवन बनाइने उनले बताए।
‘हाम्रो योजना दुई सय शय्याको भवन बनाउने हो। तर सरकारले बजेट दिएन भने हामी विकास समितिको बजेटले भएपनि आफैँ ५० शय्याको भवन बनाउने भनेर लागिरहेका छौँ।’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयले दुई करोड दिन्छु भनेको थियो। हामीले दुई करोडले पुग्दैन। चार करोडसम्म आवश्यक पर्ने भन्दै निवदेन दिएका थियौ। तर अहिलेसम्म केही पत्र पनि आएको छैन।
अस्पतालका अनुसार हाल यहाँ दैनिक ४० जना महिलाले प्रसुति सेवा लिन्छन्। जसमध्ये १० जनाले शल्यक्रिया मार्फत सुत्केरी गराउँछन्। वर्षेनी करिब १६ हजार जनाले प्रसुति सेवा लिदै आएकोमा गत वर्ष कोरोनाका कारण १२ हजार महिलाले प्रसुति सेवा लिएको डा पौडेलले जानकारी दिए।