तस्बिर:रोयटर्स
काठमाडौं- कोरोना भाइरसको निकै चाँडो फैलने ओमिक्रोन भेरियन्टको सहायक भाइरस बीए.२ विश्वमा तिव्र रुपमा फैलिरहेको छ। तर उक्त बीए.२ ओमिक्रोन(बीए.१) जतिकै गम्भीर रहेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अधिकारीहरुले बताएका छन्।
डब्लुएचओको कोभिड-१९ रेस्पोन्स टिमका डा बोरिस पाभलिनले एक अनलाइन सम्बोधनका क्रममा खोपले ओमिक्रोनको विभिन्न स्वरुपमा पनि समान सुरक्षा प्रदान गर्ने बताए।
ओमिक्रोन भन्दा बीए.२ गम्भीर रहेको र चाँडो संक्रमण भइरहेको समाचारहरु सार्वजनिक भइरहँदा डब्लुएचओले ओमिक्रोन भन्दा सहायक भाइरस बीए.२ थप गम्भीर नदेखिएको बताएको हो।
डेनमार्क लगायतका कतिपय देशमा ओमिक्रोनको बीए.२ सहायक भेरियन्टले बीए. १ भेरियन्टलाई प्रतिस्धापन गरिरहेको बताइएको छ।
'डेनमार्कको तथ्यांकलाई आधार मान्ने हो भने बीए.२ ले बीए.१ लाई उछिनेको छ। तर रोगको भिन्नतामा कुनै गम्भीरता देखिएको छैन। यद्यपि बीए.२ ले विश्वव्यापी रूपमा बीए.१ लाई प्रतिस्थापन गर्ने सम्भावना छ,' पाभलिनले थपे।
उनले विभिन्न देशहरूमा बीए.२ बढिरहेको भए पनि अस्पतालमा भर्ना हुनेको संख्या बढी नरहेको उनले बताए।
बीए.२, बीए.१ भन्दा बढी सर्ने र खोप लगाएका मानिसहरूलाई पनि चाँडो सर्ने डेनिस अध्ययनले देखाएको छ। डिसेम्बर र जनवरीको बीचमा ८ हजार ५ सय भन्दा धेरै डेनिस परिवारहरूमा कोरोनाभाइरस संक्रमणको विश्लेषण गरिएको थियो।
'ओमिक्रोनको सहायक भाइरस(बीए.२)ले फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा पहिले नै प्रभाव जमाएको छ' पाभलिनले भने। विश्वका धेरै देशमा पछिल्लो समय ओमिक्रोनको सहायक भाइरस तिब्र गतिमा फैलिइरहेको जनाइएको छ।