काठमाडौं- आज (बुधबार) आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्। यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ।
सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो। हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन्। पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा संगीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा तीन हजार ६३७ संक्रमित पुष्टि भएको जानकारी दिइन्।
हाल ५०० भन्दाबढी संक्रमण भएको जिल्ला १६ पुगेको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलालीमा ५०० भन्दाबढी संक्रमित रहेका छन्।
यस्तै २०० भन्दाबढी संक्रमित भएका १८ जिल्ला रहेका छन्। ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन्।
यस्तै संक्रमणमुक्त हुने सङ्ख्या सात हजार ५५५ रहेको छ।
हालसम्म आठ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ६९ हजार २९१ पुगेको छ।