काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले कोरोना संक्रमणको अवस्था लगायत विभिन्न विषयमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन्। गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत् जानकारी लिएका हुन्।
गृहमन्त्री खाणले सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन्। त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
उनले प्रजिअहरूसँग जिल्लामा कोभिड १९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड १९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या र आवश्यकता, जिल्ला सुरक्षा समितिको बैठकको नियमितता लगायत विषयमा जानकारी लिएका छन्।