काठमाडौं- डा गोविन्द केसीले प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने माग गरेका छन्। उनले गैर चिकित्सक नभई करारकै भए पनि चिकित्सकहरुको नेतृत्व दिने व्यवस्था गर्न माग गरेका छन्। विहीबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ७ बुँदे मागपत्र बुझाउँदै केसीले यस्तो माग गरेका हुन्। केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्न माग गरेका छन् ।
नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्रका विद्यार्थीसँग अवैध रुपमा अतिरिक्त रकम माग गरिएको भन्दै केसीले मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेका छन्।
‘आन्दोलनरत विद्यार्थीहरुको भविष्य अहिले पनि अन्योलमा छ। चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीहरुको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारबाही गरियोस्’ केसीले भनेका छन्।
उनले यसअघि प्रधानमन्त्रीले आफूसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न पनि माग गरेका छन्।
उनले देशभर पूर्वाधार र पर्याप्त जनशक्ति विना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको, यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको बताएका छन्।
केसीले नेपाल मेडिकल काउन्सिलमा पदीय मर्यादाविपरीत स्वार्थ समूहहरुको काम गर्ने व्यक्तिहरु रहेको भन्दै स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई पदमुक्त गरी योग्य र निष्पक्ष व्यक्ति नियुक्त गर्न माग गरेका छन्।