काठमाडौं- कोरोना भाइरस संक्रमणको दोस्रो लहरका बेला बिरामीले अस्पतालमा बेड नपाएर भौतारिनु पर्ने बाध्यता थियो। आइसीयू र भेन्टिलेटरको त हाहाकार नै थियो भन्दा हुन्छ। धेरे बिरामी अस्पताल भर्ना हुने गर्थे भने अधिकांसलाई जटिल समस्या देखिन्थ्याे। तर, कोभिड १९ को तेस्रो लहरमा अधिकांश सक्रिय संक्रमित घरमै रहेका छन् भने न्युन मात्रामा अस्पताल भर्ना भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहर भन्दा अहिले तेस्रो लहरमा अस्पताल भर्ना हुने दर करिब ४ गुणा कम देखिएको बताएको छ। मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले अघिल्लो पटकको तुलनामा अस्पताल भर्ना हुने बिरामी न्युन रहेको बताइन्।
मन्त्रालयका अनुसार, बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९७ छ। जसमध्ये ६१ हजार ८६२ जनामा घरमा आइसोलेशनमा बसेका छन्। यसैगरी स्रस्थागत आइसोलेसनमा बस्नेको संख्या १,४३४ रहेको छ।
अस्पताल भर्ना भएकामध्ये पनि गम्भीर बिरामीको सङ्ख्या न्यून रहेको छ। अस्पताल भर्ना भएकामध्ये २८१ जना आईसीयूमा र ७९ जना भेन्टिलेटरमा उपचाररत छन्।
बागमती प्रदेशमा १९४ आईसीयूमा र ४८ जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश १ मा २५ जनालाई आईसीयूमा र ४ जनालाई भेन्टिलेटरमा राखिएको छ। गण्डकीमा १७ जना संक्रमितलाई आईसीयूमा र २ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
लुम्बिनीमा २१ जनालाई आईसीयूमा राखिएको छ। ६ जनालाई आईसीयू र २ जनालाई भेन्टिलेटरमा राखिएको छ।
यस्तै, सुदूरपश्चिममा १३ जनालाई आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखिएको छ। कर्णालीमा ५ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ।