काठमाडौं– यातायातका साधनमा लगाइएको जोरबिजोर हटाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ।
कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। सीसीएमसीको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको हो।
सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर भने अघिल्लो हप्ता हटाइए पनि ट्याक्सी र निजी सवारीमा जोरबिजोर कायम छ। अब सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका सीडीओको बैठक बसेर निर्णय गरिनेछ।
सीसीएमसीसीले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन पनि सरकालाई सिफारिस गरेको छ।सीसीएमसीसीको आइतबारको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको हो। कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन्।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो। त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो।
शिक्षण संस्थाहरु फागुन १ देखि सञ्चालन गर्नका लागि सिफारिस भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
‘१२ वर्ष पूरा भएका विद्यार्थीका लागि नियमित कक्षा सुरु गर्ने र त्यसमुनि उमेर समूहका विद्यार्थीको आलोपालो कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन गृह र शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको छ’, नेपालले भनिन्।