सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ। नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको आज एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे।उनले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए।
बागमती प्रदेशका हरेक स्थानीय तहमा जतिसक्दो छिटो सरल र सहज रूपमा स्वास्थ्योपचार सर्वसुलभ बनाउन सरकार लागिपरेको उनको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले इन्द्रावतीका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए। केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी जनशक्ति व्यवस्था गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उनले बताए। प्रदेश सरकारको पाँच करोड ७३ लाख र गाउँपालिकाको २८ लाख बजेटबाट निर्मित अस्पतालमा १५ शय्या र ३९ कोठा छन्।
अस्पतालमा दुई एमबिबिएस चिकित्सकसहित, मेडिकल, एक्स–रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसिजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए। २८ हजारभन्दा बढी जनसङ्ख्या भएको इन्द्रावती–१ देखि १२ सम्मका वडाका स्थानीयवासीले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो। एक्स–रे, रगत, स्वास्थ्य परीक्षणकै लागि चौतारा, धुलिखेल या मेलम्ची धाउनुपर्ने बाध्यताबाट स्थानीयवासीले मुक्ति पाएका छन्। रासस