भरतपुर- चितवनस्थित भरतपुर अस्पतालले स्पाइनल इन्जुरीको सेवाका लागि छुट्टै भवन बनाउने तयारी गरेको छ।
रोटरी क्लबसँगको सहकार्यमा भरतपुर अस्पतालले २५ शय्याको स्पाइनल इन्जुरी भवन बनाउने तयारी गरेको हो।
५० शय्याको भवन बनाउने उद्देश्य भएपनि पहिलो चरणमा २५ शय्याबाट सुरु गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार यही फागुन १ गतेदेखि भवन निर्माणको काम हुनेछ।
उनले भने, ‘मेरुदण्ड भाँचिएको, ढाड भाँचिएर पक्षघात भएका बिरामीहरुको उपचारका लागि छुट्टै भवन बनाउँदैछौ। शिलन्यास भइसक्यो। अब फागुन १ गतेदेखि काम सुरु हुन्छ। अरु अस्पतालमा नभएको र हाम्रो नयाँ योजना हो यो।’
भवन निर्माणको काम आगामी एक वर्षभित्र सक्ने अस्पतालको लक्ष्य छ। मेरुदण्ड भाँचिएको, भाँचिएर पक्षघात भएका बिरामीहरुको उपचारका लागि नेपालमा उपचार गर्ने राम्रो व्यवस्था नभएको उनले बताए। भरतपुर अस्पतालमा अत्याधुनिक प्रविधि सहितको सेवा र छुट्टै भवन भएपछि बिरामीहरुलाई उपचारमा थप सहज हुने उनको अपेक्षा छ।
भरतपुर अस्पतालमा २०६९ सालदेखि १२ शय्याको चितवन स्पाइनल इन्जुरी सेन्टर सञ्चालित थियो। तर भवन भत्किएका कारण हाल उक्त सेवा अर्थोपेडिक वार्ड अन्तर्गत सञ्चालन भइरहेको छ।
‘स्पाइनल इन्जुरीका बिरामीलाई एक लाख रुपैयाँ दिने अस्पतालहरुमा हाम्रो अस्पताल पनि सूचीकृत भएको छ। यहाँ स्पाइनल इन्जुरीका बिरामीहरु पनि आउँछन्। त्यसैले छुट्टै भवन बनाएर सेन्टरको रुपमा विकास गर्ने लक्ष्य हो।’, उनले भने।
यो सँगै भरतपुर अस्पतालले प्रादेशिक सरुवा रोग अस्पताल र छुट्टै प्रसुति भवन समेत बनाउँदैछ।
भरतपुर अस्पतालमा विशेषगरी चितवन सहित मकवानपुर, लमजुङ, नवलपरासी, धादिङ, गोरखा, तनहुँबाट उपचारका लागि बिरामीहरु आउने गर्छन्। भरतपुर अस्पतालमा हाल ५५० शय्या सञ्चालित छ। मेडिसिन, सर्जनरी, गाइनो, पेडियाट्रिक, अर्थोपेडिक लगायत गरी १५ वटा क्लिनीकल डिपार्टमेन्ट सञ्चालित रहेको अस्पतालले जनाएको छ। १७ सयको हाहाहारीमा उपचार लिन आउने अस्पतालमा हाल कोभिडका कारण चार सयदेखि पाँच सय बिरामी आउने गरेका छन्।