के तपाईंलाई थाहा छ? इन्टरनेटमा एउटा यस्तो वेभसाईट छ जहाँ तपाईंले क्यान्सरले मृत्यु हुनेहरुको लाईभ संख्या हेर्न सक्नुहुन्छ। अचम्मको कुरा के भने त्यो वेबसाईटमा झन्डै हरेक सेकेन्डकै रफ्तारमा क्यान्सरले मर्नेहरुको संख्या बढीरहेको देख्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार २०२० मा क्यान्सरका कारण लगभग १ करोड व्यक्तिले ज्यान गुमाए। यो संख्या सुनेर अब अचम्म नलाग्न पनि सक्छ किनकी हामी सबैकाे घरपरिवारमा वा चिनजानमा रहेका धेरै जना यो रोगसँग लडिरहेकै छन्, कति त मरिरहेकै छन्।
विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ। विश्वमै सातौँ स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर चाहिँ हाम्रो देशमा किन दोस्रो स्थानमा भन्ने प्रश्न मेरो मनमा उठिरह्यो। त्यसैले आजको लेख ओझेलमा परेको पाठेघरको मुखको क्यान्सरको लागि।
पाठेघरको मुख अर्थात गर्भाशय ग्रीवाको ९० प्रतिशत क्यान्सर एउटा विषेश भाइरस 'ह्युमन प्यापिल्लोमा भाइरस' एचपीभीका कारण हुने गर्दछ। २०१८ मा यो क्यान्सर विश्वका करीब ५ लाख ७० हजार महिलामा देखिएको थियो। जसमध्ये ३ लाख १० हजारको मृत्यु हुन गयो। यस्तो उच्च मृत्युदर भएता पनि यो क्यान्सरको समयमै जाँच गर्नसके यसबाट बच्न भने सकिन्छ।
एचपीभीका बारेमा बुझ्नुपर्दा
यो भाइरसबारे जर्मनका प्रो.डा. हाराल्ड जु हौजेनले १९७९ देखि आफ्नो टोलीसँग अध्ययन सुरु गरेका थिए। करीब तीन दशक लामो खोज-अनुसन्धान पश्चात उनले यो भाइरस र पाठेघरको मुखको क्यान्सर सम्बन्धित रहेको पुष्टि गरेपछि उनलाई २००८ मा विश्वप्रसिद्ध नोबेल पुरस्कारले सम्मानित गरिएको थियो। यो खोज नै अन्तत: आजको समयमा यो क्यान्सरबारे गरिने जाँच र रोकथामको आधार बन्यो।
पाठेघरको मुखको क्यान्सर पछाडी लुकेको यो भाइरस विशेषगरी यौनसम्पर्कबाट सर्ने गर्दछ अनि यसले यति मात्र नभई मलद्वारको, गुप्ताङ्गको साथै घाँटीको क्यान्सर अनि गुप्ताङ्गमा मुसा आउने जस्ता समस्या समेत गराउन सक्छ। एचपीभी आँफैमा मानविय प्रजनन प्रणालिमा सामान्यतया देखा परिरहने भाइरस हो। धेरै सानो उमेरमै यौन सम्पर्क हुनु, धेरैजनासँग यौन सम्बन्ध राख्नु, आफ्नो पार्टनरको अरु धेरै जनासँग यौन सम्बन्ध हुनु, धुम्रपान, गरीब आर्थिक-स्थिति, समयमै उपचार अनि जाँचको अभाव इत्यादी जस्ता कुराले एचपीभी संक्रमणको जोखिमलाई बढाउँछ।
तर के सबै एचपीभी संक्रमण हुने मान्छेलाई क्यान्सर हुन्छ त?
हुँदैन! किनकी यो भाइरसका १०० भन्दा पनि बढी प्रकारहरु छन्। जसमध्ये एचपीभी टाईप-१६ र १८ मात्रका कारण ७०% भन्दा बढी क्यान्सर हुने गर्दछ। यी दुई बाहेक एचपीभी टाईप- ६, ११, ३१, ३३, ३५, ३९, ४५, ५१, ५८ ले एचपीभी सम्बन्धित मुसा र क्यान्सर गराउन सक्छन्। बुझ्नुपर्ने कुरा के भने एचपीभी संक्रमण हुँदैमा क्यान्सर भईहाल्ने हैन। यो संक्रमणलाई क्यान्सरमा बदलिन धेरै लामो समय लाग्ने हुँदा समयमै परीक्षणको सहायताले हामीले यो क्यान्सरलाई रोक्न सक्छैँ।
एचपीभी संक्रमण र विकासोन्मुख मुलुकहरु
हरेक साल संसारभर देखिने पाठेघरको मुखको क्यान्सरका ८० प्रतिशतभन्दा बढी बिरामीहरु विकासोन्मुख देशबाट रहने गर्दछन्। दक्षिण अमेरिका, अफ्रीका र दक्षिण-पुर्वी एसिया क्षेत्रमा व्याप्त यो क्यान्सर पछाडी दुई प्रमुख कारण छन्: जनमानसमा जनचेतनाको अभाव र समयमै परीक्षणको अभाव!
यो क्यान्सरविरुद्ध यति धेरै खोज र आविष्कारहरु भए तापनि जनमानसलाई यो कुरा थाहा नहुनु र उनिहरुले यसबाट लाभ लिन नसक्नु धेरै दु:खको कुरा हो।
प्याप परीक्षण अनि एचपीभी खोप
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिने 'प्याप परीक्षण' वा बोलिचालिको भाषामा भन्दा 'मुखको पानी जाँच' गर्न सकिन्छ। यसमा पाठेघरको मुखमा रहेका कोशिकाहरु लिई सुक्ष्म जाँच गरिन्छ। जसको माध्यमबाट एचपीभी संक्रमणको कारण उक्त कोशिकाहरुमा असामान्य परिवर्तन भएर देखिन्छ। यसपश्चात डाक्टरको परामर्श अनुसार बायोप्सी र अन्य जाँचहरु गरी उपचारलाई अगाडी बढाई सो संक्रमणले निम्त्याउन सक्ने क्यान्सरलाई अगावै रोक्न सकिन्छ। जोन होप्किन्स मेडिसिनका अनुसार यो परीक्षण २१ वर्षको उमेर देखि सुरु गर्न सकिनेछ। जसपश्चात सो परीक्षण हरेक ३-३ वर्षमा दोहोर्याउनु पर्नेछ। यो परीक्षणलाई ६५ वर्षसम्म गरिरहन सकिने छ। बिचमा पाठेघर फाल्नुपरेको अथवा बिगत १० वर्षमा गरिएका दुई वा बढी प्याप परीक्षणको नतिजा सामान्य आएमा सो परीक्षण फेरि गर्नुपर्ने छैन।
यति मात्र नभई अहिले बजारमा एचपीभीविरुद्धको खोप समेत उपलब्ध छ। यो खोपले क्यान्सर गराउने एचपीभी विषेशगरी टाईप १६ र १८ का साथै खोप अनुसार टाईप ६, ११, १६, १८ विरुद्ध संरक्षण प्रदान गर्छ। ९ वर्षको उमेर देखि लगाउन मिल्ने यो खोप १५ वर्ष अगाडी नै लगाएमा २ डोज लगाउनु पर्नेछ भने त्यसपछि लगाएमा ३ डोज लगाउनुपर्नेछ। यो खोपको फाइदा प्राप्त गर्न यसलाई ढिलामा २६ वर्ष अगाडी लगाइसक्नुपर्ने विज्ञहरुको भनाई छ। तर खोप लगाए पनि क्यान्सरबाट पूर्णरुपमा सुरक्षित रहन प्याप परीक्षण गरिरहनु नै पर्नेछ।
धेरै विदेशी मुलुकले नियमित परीक्षण अनि खोपको सहायताले सो क्यान्सरलाई निकै कम गरिसके। यसरी रोकथामका अनेक उपाय भएको क्यान्सर हाम्रो देशमा ब्याप्त हुनुले यो रोग कतै ओझेलमा परेको त हैन भन्ने लाग्छ। क्यान्सर एउटा व्यक्तिलाई लाग्ने रोग भए पनि यसको असर एउटा सिङ्गो घर अनि यसको भार एउटा राज्यको स्वास्थ्य संरचनामा लामो समयसम्म पर्ने हुनाले सो रोगको रोकथाम बारे सोच्नु अहिलेको आवश्यकता हो। गाउँ-गाउँमा स्वास्थ्य सुबिधासम्म पहुँच नभएका त्यस्त कति महिला होलान् जो यो क्यान्सरकासँग बाँचिरहेका होलान अनि कति यस्ता बिपन्न महिला होलान जो क्यान्सरजस्तो बिकराल रोगसँग लड्न नसकेर मृत्यु कुरिरहेका होलान।
त्यसैले प्याप परीक्षणलाई द्रुतगामी तरिकाले गाउँ-गाउँसम्म पुर्याउने, क्यान्सर सम्बन्धी खोज, अनुसन्धान अनि तथ्यांक सम्प्रेषणलाई अगाडि बढाउने साथै खोपका लागि पनि विदेसी संस्थासँग सहकार्य गरी पहल गर्नेजस्ता काम सरकार अनि सरोकारवालाले गर्नुपर्छ। योसँगै हामी आम-मानिसले नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्यकर्मीसँग परामर्श लिने र आफ्नो स्वास्थ्यसमस्या अरु सामु नहिच्किचाई राख्न अघि बढ्नुपर्छ।
-(लेखक नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस पाँचौ वर्षमा अध्ययनरत छिन्।)