काठमाडौं- कोभिड खोपको मौज्दात र खोप लगाएकाहरुको विवरण पठाउन बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो पटक ताकेता गरेको छ।
सोमबार सूचना जारी गर्दै मन्त्रालयले खोपको मौज्दात र खोप लगाएकाहरुको विवरण पठाउन बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहलाई छिटोभन्दा छिटो खोपको विवरण पठाउन निर्देशन दिएको हो। कोभिड-१९ विरुद्ध खोप अभिलेख राख्नको लागि २१ माघसम्म विवरण पठाउन मन्त्रालयले माघ १६ गते निर्देशन दिएको थियो। हालसम्म ७१ जिल्ला तथा ६४४ स्थानीय तहहरुले उक्त विवरण पठाएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले खोपको अभिलेख छानविन प्रक्रिया सम्पन्न गर्नका लागि प्रयोगमा आउन सक्ने खोप, म्याद गुज्रिएको वा कुनै कारणवश क्षति भै प्रयोग गर्न नमिल्ने खोपको मात्राको विवरण पनि २६ माघभित्र डीएचएस प्रणालीमा प्रविष्ट गर्न सबै स्वास्थ्य कार्यालय, स्थानीय तहलाई मन्त्रालयले अनुरोध गरेको छ।