कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा साझा स्वास्थ्य सेवा भवनको शिलान्यास गरेका छन्। सो अवसरमा उनले काममा ढिलासुस्ती, गुणस्तरहीन कार्य स्वीकार्य नहुने भन्दै सम्झौता बमोजिम निर्धारित समयमा काम गर्न निर्देशन दिए।
सम्झौता विपरीत कार्य गरिएको पाइए कानुनअनुसार सजायको भागी हुनुपर्नेतर्फ सचेत गराउँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले थालेका विकास निर्माणका कार्यमाथि नजिकबाट निगरानी भइरहेको बताए। प्रदेशस्तरका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले भने, “जनतालाई राहत हुने गरी सेवा प्रवाह गरिनुपर्छ।”
त्यस अवसरमा पूर्व राज्यमन्त्री प्रकासबहादुर रावलले जनताको सेवालाई मध्यनजर गर्दै सेवा प्रवाह गरिनुपर्ने बताए। प्रदेशसभाका सदस्य महेशदत्त जोशीले प्रदेश सरकारले सञ्चालन गरेका योजनामा जनताको पक्षमा भएकाले त्यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताए।
साझा स्वास्थ्य सेवाका महाप्रबन्धक भरतप्रसाद ढकालले भवन निर्माणका लागि रु ३२ लाखमा ठेक्का सम्झौता गरिएको जानकारी दिए। उनका अनुसार भवन निर्माणका लागि नागार्जुन निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको छ। यसैबीच, मुख्यमन्त्री भट्टले नेपाली सेनाले निर्माण गरिरहेको भीमदत्त नगरपालिका–१८ सालघारीमा होल्डिङ सेन्टरको अनुगमन गरेका छन्। रासस