रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो।
शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको छ। शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र ११३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए। दाँतमा समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ।
केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।