काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाबिरुद्धको फाइजर खोप ल्याउन लागिएको बताएका छन्।
बुधबार नेकपा ९एकीकृत समाजवादी० निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई चाँडो कोरोनाबिरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन्।
उनले विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोपकेन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाए। मन्त्री खतिवडाले सरकार कोरोनाबिरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरुलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्ने बताए।
उनले अबको केही दिनभित्र नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको पनि बताए।
मन्त्री खतिवडाले भने, ‘विद्यार्थीलाई खोपको कुरा उठाउनु भयो । हामीले पुस ४ गतेबाट शुरु गरिसकेका छौँ। असजिलो नहोस् भनेर विद्यालयलाई नै खोप केन्द्र बनायौँ। विद्यालय खोपकेन्द्र भएकोले त्यो उमेरसमूहका विद्यार्थीले मात्रै पाउने अरुले नपाउने हो कि भन्ने होइन, त्यो खोप केन्द्र हो । वरिपरि भएका सबै सो उमेरसमूहका बालबालिकालाई खोप लगाउनु पर्छ । हामीले ५–११ उमेरसमूहकालाई पनि खोप ल्याउन प्रयत्न गरिरहेका छौँ, फाइजर खोप।’
विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरु गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरुलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको बताए।