काठमाडौं– नक्कली मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट) सम्बन्धी लिखत कीर्ते गरेको कसूरमा काठमाडौंबाट १ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
माघ २५ गते मंगलबार काठमाडौंको टेकुस्थित अस्पतालमा नक्कली डेथ सर्टिफिकेट बोकेर १ जना हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ईजे ०५०९२७७ नम्बरको राहदानी वाहक चिनियाँ नागरिक वाङ याङ छन्। प्रहरीले उनले बोकेको झोलाबाट नक्कली डेथ सर्टिफिकेट र पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी कागजपत्र बरामद गरेको छ। प्रहरीका अनुसार चिनियाँ नागरिक वाङले ग्रीन सिटी अस्पतालको नामबाट जारी भएको नक्कली डेथ सर्टिफिकेट बोकेका थिए।
पक्राउ परेका वाङविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ९१० ‘किर्ते गर्न नहुने कसूर’मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।
वाङविरुद्ध अनुसन्धानका लागि काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।