विराटनगर- विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका नौ वटा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई बाल सघन उपचार सम्बन्धी प्रशिक्षण दिइएको छ। स्वास्थ्य तालिम केन्द्र धनकुटाले चार दिने तालिम आयोजना गरेको हो।
आइतबारदेखि बुधबारसम्म सञ्चालन भएको तालिममा जिल्ला अस्पताल धनकुटा, उदयपुर, भोजपुर, रंगेली, दमक, नोबेल, कोशी कोभिड, विराट र बीपी अस्पतालका बच्चा सम्बन्धि १६ जना डाक्टर र नर्सहरु सहभागि भएको नोबेल अस्पतालका बालरोग बिशेषज्ञ डा.बविता खनालले जानकारी दिइन्। उनीहरुलाई नोबेल विराट, वीपी र कोशी अस्पतालका आठ जना बालरोग विशेषज्ञ डाक्टरहरुले प्रशिक्षण दिएका छन्।
सहभागिहरुलाई सैद्धान्तिक र अभ्यासका माध्यमबाट सीप सिकाइएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहित पाण्डेले जानकारी दिए। उनका अनुसार तालिममा विशेष गरी पीआईसीयूमा उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरु, उपयुक्त तरिकाले मेसिन तथा उपकरणको प्रयोग विधि, कोरोनाको समयमा ख्याल गर्नुपर्ने पक्ष लगायतका बिषयमा तालिम दिइएको छ।
तालिम समापनका अवसरमा नोबेल अस्पतालका जेनेरल मेनेजर रुद्र प्रसाद शर्माले नोबेल अस्पताल तालिम केन्द्रका रुपमा विकसित हुँदै गएको बताए।