पूर्ण बहादुर खड्का
अछाम- जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ९ कालेकाडाँकी एक किशोरी ४ वर्षदेखि थला परेकी छन्। १६ वर्षे मनपुरा भाट ४ वर्षअघि बिरामी भएपनि आर्थिक अवस्था कमजोर भएपछि उनको अहिलेसम्म उपचार हुन सकेको छैन।
समयमा उपचार हुन नसक्दा अहिले हात खुट्टा नचल्ने अवस्थामा छन्। उनि अहिले प्यारालाइसिसबाट ग्रसित भएकी छन्।घर परिवारको आर्थिक अवस्था कमजारे हुंदा मनपुरालाई उपचार गराउन नसकिएको उनका बुवा नन्नाराम भाटले दुखेसो गरे। बिपन्न घर परिवारका नन्नारामले आफुसँग पैसा नहुंदा छोरीको उपचार गर्न नसकेको बताए।
४ वर्ष देखि बिरामी हुँदापनि पनि आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगरी घरमै बसेका कारण उनि पूर्ण रुपमा प्यारालाइसिस भएर थला परेकी छन्। अहिलेसम्म कही कतैबाट सहयोग समेत नपाएको उनले बताए। मनपुराको नियमित महिनावारी नहुने र प्यारालाईसिस भएपछि दिशा पिसाव समेत व्यावस्थापन गर्न नसक्ने अवस्थामा पुगेकी छन्।
नगर प्रमुख अम्बिका चलाउनेले तत्कालका लागि स्वास्थ्य सामाग्री,कपडा र सेनिटरी प्याड सहयोग गरेको र आगामी दिनमा उपचारका लागि नगर बाट सहयोग गरिने बताईन्।