काठमाडौं– डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी बनेका तीन जनामाथिको अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा पठाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २५ दिन लामो अनुसन्धान सकेर अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पेश गरेको हो।
स्नातकोत्तर तह (एमडी/एमएस) को अध्ययनका लागि लिइने प्रवेश परीक्षामा नक्कली परीक्षर्थी बनेका तीन जनालाई सिआइबीले माघ ८ गते पक्राउ गरेको थियो। ब्यूरोको टोलीले भारत उत्तर प्रदेशका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहारका ३४ वर्षका शशिभूषण सिंह र भारत बिहारकै ३२ वर्षका कृष्ण मुरारीलाई पक्राउ गरेको थियो।
मुरारी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान सानो भर्याङबाट पक्राउ परेका थिए भने बाँकी दुई जना एलआरआई स्कूल कलंकीबाट पक्राउ परेका थिए।
पक्राउ परेका मध्ये मिश्रा नक्कली परीक्षार्थी, एलआरआई केन्द्रबाट नै पक्राउ परेका सिंह बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने व्यक्ति हुन्। नेपाली सेनाको मेडिकल कलेजबाट पक्राउ परेका मुरारीले भने परीक्षामा अमर्यादित कार्य गरेको आरोप छ।
दुई छुट्टा–छुट्टै ठाउँ र घटनामा पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले छुट्टा–छुट्टै घटनाको प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा फाइल पेश गरेको छ। ब्यूरोका प्रवक्ता तथा एसपी श्याम महतोले कसुर एउटै भए पनि भिन्दाभिन्दै घटना भएकाले दुई वटा अनुसन्धान फाइल बनाएर सरकारी वकिल कार्यालयमा पेश गरिएको स्वास्थ्यखबरलाई बताए।
तीनै जनाको फाइल सरकारी वकिल कार्यालयमा पेश गरिएकोमा सिंह र मिश्राको फाइलमा केही विषय थप गर्नु भन्दै सरकारी वकिल कार्यालयले सिआइबीमै फाइल फिर्ता गरेको थियो। सरकारी वकिल कार्यालयको निर्देशन बमोजिम केही विषय थप यी दुईको अनुसन्धान फाइल पनि आइतबार सरकारी वकिल कार्यालयमा पठाइएको एसपी महतोले जानकारी दिए।
उनीहरुविरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ को कसुर अनुसार सजाय हुनुपर्ने भन्दै सिआइबीले रायसहितको प्रतिवेदन बुझाएको छ।
दफा १७ अनुसार परीक्षा केन्द्रमा अमर्याति गतिविधि गर्ने, प्रश्नपत्रको गोपनियता भंग गर्ने, अरुको तर्फबाट परीक्षा दिनेलगायत कार्य गरेमा कसुर गरेको ठहर्ने उल्लेख छ। यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरि ६ महिनासम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ।