काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले टेस्टट्यूब बेबी (आइभिएफ) संचालनको इजाजत पाएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि आइभिएफ संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्था अनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर संचालनको इजाजत दिएको हो।
जनस्वास्थ्य सेवा नियमावली बमोजिम टेस्टट्यूब बेबी (आइभिएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो। मन्त्रालयले माघ २५ गतेको सचिवस्तरिय निर्णय गर्दै नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको हो।
नियमावलीको नियम १२ बमोजिम नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जानकारी दिए।
उनका अनुसार जनस्वास्थ्य नियमावलीले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आइभिएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको हो।
यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभिएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए। तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभिएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो।
नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभिएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ। सुविधासम्पन्न र आधुनिक आइभिएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।