काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका– ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जर्मन विकास बैंक (केएफडब्लु)ले १ अर्ब रुपैयाँबराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ।
सो सहयोगसम्बन्धी सम्झौतामा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिबीच हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ। सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ। नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारी अन्तिम चरणमा पु¥याएका छन्। डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्ने नगरप्रमुख गिरीले बताए। ‘निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ,’ गिरीले भने, ‘यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौं।’
अस्पतालले काठमाडौंका दक्षिण पश्चिम भेगका साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पु¥याउने अपेक्षा गरिएको छ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ। विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ। प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ। अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिए। रासस