काठमाडौं- कोभिड १९ विरुद्धको खोप छानबिन समितिले खोप अभियानमा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको छ।
हराएको भनिएको २४ लाख डोज खोप खोज्न गठन गरिएको समितिले हराएको भनिएको मात्राभन्दा बढी खोप भेटिएको निष्कर्ष निकालेको हो।
समितिको प्रतिवेदन अनुसार हराएकोभन्दा बढी मात्रामा खोप भेटिएको जनाएको छ। प्रतिवेदनमा ४ लाख ५५ हजार ३५५ डोज खोप बढी रहेको उल्लेख छ। जसमा खेर गएको भनिएको ५६ हजार ९०८ डोज खोप जोड्दा ५ लाख १२ हजार २६३ डोज खोप बढी देखिन्छ।
१० मात्राको भाइलमा ११ डोज दिँदा समस्या आएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनमा भनिएको छ, ‘प्राप्त सबै विवरणलाई विश्लेषण गर्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी देखिन्छ। विभिन्न स्थानहरुमा गरिएको स्थलगत अवलोकन, अन्तरक्रिया, सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भाइलमा ११ जनालाई लगाएको समेत देखिन्छ।’
यो सँगै खोप निःशुल्क भएपनि केही व्यक्तिहरुले खोप लगाए बापत पैसा लिएको, लक्षित वर्ग बाहेकले पनि खोप लगाएको, मौज्दात राम्रोसँग नभएको, बुस्टर मात्रा लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै केही व्यक्तिले पहिलो खोप भनी बुस्टर डोज लगाएको, खोप अभियान पूर्ण व्यवस्थित गर्न नसिकएको प्रतिवेदनमा उल्लेख छ।
खोप मौज्दात र उपभोग अभिलेखबारे प्रश्न उठेपछि माघ गते १६ मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो। समितिले सरकारलाई विभिन्न ६ बुँदे सुझावसमेत दिएको छ।
हेरौँ छानबिन समितिको प्रतिवेदन: