काठमाडौं- उच्चस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य लिएको मधेस प्रदेशको जानकी मेडिकल कलेज मलेसियाको चर्चित माह्सा विश्वविद्यालयसँग आवद्द भएको छ। सन् २००४ मा प्राध्यापक डा. मोहम्मदहन्निफाले स्थापना गरेको माह्सा विश्वविद्यालय दक्षिण एसियाली मुलुकहरूमा उच्चस्तरीय शैक्षिक व्यवस्था स्थापित गर्ने उद्देश्यका साथ अघि बढिरहेको संस्था हो।
मेडिसिन, बायोसाइन्स, दन्तचिकित्सा, फार्मेसी, स्वास्थ्य विज्ञान, नर्सिङ, व्यापार, वित्त, आतिथ्यव्यवस्थापन, सूचनाप्रविधि जस्ता विषयगत क्षेत्रहरूमा उच्चशिक्षा प्रदान गर्ने माह्सा विश्वविद्यालयसँग आवद्द भएर जानकी मेडिकल कलेजले आफ्नो विद्यार्थीहरूलाई अनुसन्धान अनि अभ्यासमा केन्द्रित शिक्षा दिने लक्ष्य लिएको छ।
माह्सा विश्वविद्यालयसँगको संयुक्त प्रेस विज्ञप्तीमा जानकी मेडिकल कलेजले उक्त विश्वविद्यालयसँग आवद्द हुँदाको सकारात्मक पक्षहरूलाई व्याख्यागर्दै खुशी व्यक्त गरेको छ। माह्सा विश्वविद्यालय र जानकी मेडिकल कलेजबीच मेडिकल क्षेत्रमा संयुक्त अनुसन्धान, विद्यार्थी आदानप्रदान लगायतका कुराहरूमा सहकार्य गर्ने सम्झौता भएको छ।
जानकी मेडिकल कलेजका विभागीय प्रमुख प्रा.राम प्रसाद उप्रेतीले स्वास्थ्य क्षेत्रलाई मात्र नभई दुई राष्ट्रको सम्बन्धलाई पनि सुदृढ़ बनाउने बताए। आगामी दिनहरूमा यसरी नै अन्य विश्वस्तरीय संस्थाहरूसँग सहकार्य गरेर जानकी मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट मेडिकल शिक्षण संस्था र अस्पताल बनाउने योजना भएको उप्रेतीले बताए।