बलेवा- गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ। सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्। प्रदेश सरकार स्थापनाको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सरकार सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा केन्द्रित रह्यो।
साबिकको धौलागिरि अञ्चलको मुकाम बागलुङ बजारमा रहेको धौलागिरि अस्पतालको कुशल व्यवस्थापन र कोरोना महामारीका बेला अस्पतालले निभाएको भूमिका प्रदेश सरकारको देखिने महत्वपूर्ण काम हो। उप–प्रादेशिक अस्पतालका रुपमा विकास भइरहेको धौलागिरि अस्पतालमा पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङकी पहिलो र दोस्रो तथा नेपालकै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितलाई अस्पतालमै पुगेर भेटे। लामो समय अलपत्र रहेको अस्पतालको ‘बी’ ब्लकको हस्तान्तरण र प्रयोग, कोरोना भाइरस सङ्क्रमण जाँच प्रयोगशाला स्थापना, सघन उपचार कक्ष, लिफ्ट स्थापना, बगैँचा, पानी, फोहोरको व्यवस्थापन र अन्य भौतिक संरचनामा भएको सुधार धौलागिरि अस्पतालमा प्रदेश सरकारले गरेको देखिने काम हो।
सडक पूर्वाधारमा पनि बागलुङमा प्रदेश सरकार देखिएको छ। २०५४ सालमा ट्र्याक खुलेको, पटक–पटक स्तरोन्नति भएर पनि कालोपत्र हुन नसकेको बागलुङ कुश्मीशेरा सडकको कालोपत्र गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण रह्यो। उक्त सडकको पाग्जादेखि सरङ्गेसम्मको १० किलोमिटर खण्ड यो चार वर्षको बीचमा कालोपत्र भएको छ। जिल्लाको दक्षिण क्षेत्रलाई जोड्ने यो सडक कालोपत्र हुँदा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका तथा यो सडक हुँदै गुल्मी र पर्वतको दक्षिण जाने यात्रुका लागि सहज भएको छ। २४ वर्षसम्म जस्ताको त्यस्तै रहेको यो सडकमा भएको कालोपत्रले प्रदेश सरकारको काम मात्रै देखाएको छैन, यहाँका राजनीतिक दल, नेता र सरोकारवालको नाक छोपिदिएको छ।
रु २९ करोड लगानी भएको यो सडकखण्ड कालोपत्र हुँदा बागलुङ कुश्मीशेरा २१ किलोमिटर खण्डमा अब सहजै यात्रा हुन्छ। बाँकी सडक सडक विभाग, प्रदेशको निर्वाचन क्षेत्र विकास कार्यक्रम र सङ्घीय निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट कालोपत्र भएको छ। बाँकी रहेको एक किलोमिटर सडक पनि प्रदेश सरकारले कालोपत्र गर्ने आशा सर्वसाधारणमा छ।
बागलुङ नगरपालिका–४ कुँडुले फेदीदेखि काठेखोला गाउँपालिका–३ धम्जा जोड्ने सडकको ट्र्याक खुलेको छ। जिल्लामा महत्वपूर्ण मार्गको रुपमा लिइएको यो सडक बनाउँदा प्रदेश सरकारले रु ४१ करोड खर्चेको छ। यो सडकले चार वर्षमा प्रदेश सरकारले गरेका कामको प्रतिनिधित्व गर्छ। अन्य केही महत्वपूर्ण र जनताका लागि उपयोगी सडक तथा सडक पुलहरु पनि प्रदेश सरकारले निर्माण गरेको छ।
पर्यटनको क्षेत्रमा शालग्राम सङ्ग्रहालय प्रदेश सरकारको देखिने काम हो। बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा निर्माण भएको भूमिगत सङ्ग्रहालयमा प्रदेश सरकारले विभिन्न चरणमा रु तीन करोडभन्दा बढी बजेट खर्चेको छ। धार्मिक, पौराणिक र प्रकृतिको संरक्षण गर्नका लागि निर्माण भएको सङ्ग्रहालय नयाँ पर्यटकीय गन्तव्य बनेको छ।
त्यस्तै मुख्यमन्त्री कृषि नमूना गाउँ कार्यक्रमबाट किसानले गरेको आम्दानी र सफलताका कथा प्रदेश सरकारका देखिने काम हुन्। कृषि ज्ञान केन्द्रमार्फत निर्माण भएका शीतभण्डार, आलु सुन्तलाको भण्डारणमा सहयोग, परम्परागत बालीहरुको संरक्षणमा सक्रियता र आधुनिक खेती प्रणालीमा किसानलाई रुपान्तरित गर्ने कामसमेत प्रदेश सरकार गठनपछि भएका छन्।
कृषिमा आधुनिकीकरण, शिक्षामा सहजीकरण र स्वास्थ्यमा साझेदारी तथा पूर्वाधारमा लगानी भइरहेको छ। आधारभूत तहको खानेपानीको पहुँच विस्तार, विद्युतीकरण र पशुपालनका क्षेत्रमा भइरहेका कामहरुमा समेत प्रदेश सरकारको उपस्थिति देखिने गरेको छ। विपत्को व्यवस्थापन र राहत तथा उद्धारमा सरकार देखिने गरी उपस्थित छ। रासस