काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्राडा गौरिशंकर साह, शिक्षाध्यक्ष प्राडा गुरु खनाल सहितलाई काममा फर्कन बाटो खुलेको छ।
उनिहरुलाई काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीस ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनिहरुलाई काममा फर्कन आदेश दिएको हो। अदालतले दुवैपक्ष राखेर छलफल गर्न विपक्षीलाई पनि बोलाउन आदेश गरेको छ। यस्तै अब स्वास्थ्य मन्त्रालयबाट प्रतिष्ठानमा पठाइएका डा श्यामसुन्दर यादवको सट्टामा हाललाई प्रतिष्ठानका पदाधिकारीलाई नै काम गर्न दिनु भन्ने आदेश उल्लेख छ।
अदालतको आदेशसँगै सरकारले दैनिक काम, कर्तव्य अधिकार प्रयोग गर्न वीपी प्रतिष्ठानका पदाधिकारीहरुले पाउने भएका छन्।
सरकारले बहालवाला पदाधिकारीहरू, उपकुलपति, शिक्षाध्यक्ष र अस्पताल निर्देशकलाई काम गर्न रोक लगाई प्रतिष्ठानको स्वायत्त अधिकारमा हस्तक्षेप गरी आफूहरूको अधिकार खोसेको भन्दै उनीहरू अदालत पुगेका थिए।
'सम्मानित सर्वोच्च अदालतले न्यायको पक्षमा फैसला गरेको छ,' डा गिरीले स्वास्थ्यखबरसँग भने, 'भोलि पत्र बुझेर पर्सी देखि नै जिम्मेवारीमा फर्किन्छु।' उनले प्रतिष्ठानलाई थप गति दिन आफू लागिपर्ने बताए।
सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका पदाधिकारीलाई कामकाजमा रोक लगाउँदै उक्त स्थानमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्याम सुन्दर यादवको टोलीलाई पठाएको थियो।
डा यादवसँगै प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारी पनि प्रतिष्ठानमा गएका थिए। सरकारले प्रतिष्ठानको आर्थिक क्रियाकलाप सञ्चालनका लागि कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एकजना उपसचिव पठाउने निर्णय गरेको थियो।
उनीहरुले प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले गर्ने काम गर्ने छन्। मन्त्रिपरिषदको पुसन ३० गतेको बैठकले प्रतिष्ठान सञ्चालन तथा प्रतिष्ठानको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न डा यादवको टोली पठाउने निर्णय गरेको थियो।
विभिन्न छानबिन समिति गठन गरेर प्रतिवेदन दिएपनि पछिल्लो पटक भने प्रतिष्ठानका सहकुलपति समेत रहने स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको संयोजकत्वमा छानबिन समिति बनेको थियो।
जसले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरुप्रसाद खनाल, अस्पताल निर्देशक डा। गौरीशंकर शाह र तत्कालिन रजिस्ट्रार डा। मोहनचन्द्र रेग्मीले आर्थिक अनियमितता गरेको निस्कर्ष निकालेको थियो। छानबिन हुनु अगाडिनै रजिस्ट्रार रेग्मीले भने राजीनामा दिएका थिए।