काठमाडौं– वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तराष्ट्रिय हवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ।
कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो। विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको सङ्घको दाबी छ।
‘छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलकले हवाईयात्राका लागि पिसिआर परीक्षणको अनिवार्यता हटाइसकेकाले नेपालमा पनि सोही अनुरुप पर्यटकका लागि सजिलो हुने गरी पिसिआर परीक्षण र सिसिएमसीको फाराम भर्नुपर्ने प्रावधान तत्कालै हटाइ पर्यटन उद्योगलाई राहत प्रदान गर्न सङ्घ सरकार समक्ष अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।