काठमाडौं-राष्ट्रिय सभा अध्यक्ष र सातै प्रदेशका सभामुख,उपसभामूख तथा प्रदेश सभा सदस्यहरुले कोभिड महामारी अन्त्यको लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पोखरामा शनिबार आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिमः सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्ताे प्रतिवद्धता व्यक्त गरेका हुन्।
'संघीय संसदको राष्ट्रिय सभा र सातै प्रदेश सभाहरुको नेतृत्वमा रहेका जनप्रतिनिधिहरु कोभिड १९ र अन्य महामारीबाट आम नागरिकलाई जोगाउने कार्यका लागि तथ्यमा आधारित नीति निर्माण, आपसी समन्वय र सहकार्यका लागि एकजुट भएका छौं,' कार्यक्रमपछि जारी विज्ञप्तिमा भनिएकाे छ, 'हामी जनप्रतिनिधि महामारीको छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन, देशको दिगो शान्ति, सन्तुलित विकास र संवृद्धिका लागि मिलेर काम गर्न प्रतिबद्ध छौं।'
उनिहरुले देशको अर्थतन्त्रलाई साविक लयमा फर्काउन, रोजगारीको पुर्नस्थापना र विस्तार गर्न, सामाजिक सुरक्षा र अवसरको समतामुलक र न्यायपूर्ण वितरण गर्नका लागि आवश्यक वातावरण वनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यको झन् बढि खाँचो महसुस भएकाे बताएका छन्।
उनिहरुले कोभिड महामारीको त्रासदीमा पनि नागरिक जीवन रक्षामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, जनस्वास्थ्य अधिकारी, सुरक्षा निकायका कर्मचारीहरु सहित अग्रभागमा खटिने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र स्वयम्सेवकहरुप्रति साथै मित्र राष्ट्र, दातृ निकाय र अन्तराष्ट्रिय समुदायप्रति धन्यवाद दिएका छन्।
'विश्व स्वास्थ्य संगठन सहितका अन्तराष्ट्रिय संघ संस्थाहरुले गरेको प्राविधिक, आर्थिक र नैतिक सहयोगबाट धेरै नागरिकको जीवन रक्षामा मद्दत पुगेको छ। सिंगो विश्व नै महामारीबाट आक्रान्त भएको समयमा पनि अन्तर्राष्ट्रिय समुदायबाट हामीलाई प्राप्त स्वास्थ्य सामग्री, जीवन रक्षा गर्ने औषधी र कोभिड १९ भाइरस विरुद्धको खोपले विश्वमा आपसी सहयोग आदानप्रदान र मानवीय सहायताको औचित्य पुष्टि भएको छ,' विज्ञप्तिमा भनिएकाे छ, 'तसर्थः कोभिड-१९ विरुद्धको खोप र जीवनवर्द्धक औषधीको विश्वव्यापी रुपमा समान पहुँचका लागि अन्तर्राष्ट्रिय सहकार्यको दायरा अझ फराकिलो बनाउन आह्वान गर्दछौं।'
उनिहरुले यस्तो सहकार्यका लागि सबै पक्षलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस प्रकारको सहकार्यलाई थप प्रभावकारी, निरन्तरता र गतिशीलता कायम गर्न प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताए।
उनले विभिन्न भेरियन्टका रुपमा देखापरेको कोभिड–१९ ले विज्ञान र प्रविधिलाई समेत चुनौती दिँदै गइरहेको जनाउँदै नेपाल जस्तो मुलुकमा खोपको सहजता र अन्य व्यवस्थापनका कार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि केही सहज भएको बताए। उनले अझै पनि महामारी पूर्ण रुपमा निर्मूल नभइसकेकाले स्वास्थ्य सतर्कतासहित मापदण्ड पालना गरेर मात्र गतिविधिहरु गर्नुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकलाई निराश बनाएको जनाउँदै देशको समृद्धि, सुशासन र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
महामारी रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनप्रतिनिधि चनाखो भएर गृहकार्य गर्ने र रणनीतिक योजनाहरु बनाउनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले २०७६ पुस २८ मा नेपालमा पहिलो पटक कोभिड–१९ सङ्क्रमित देखा परेको र तत्कालीन समयमा कोभिड परीक्षण रोकथामका कार्य गर्न निकै जटिल र चुनौती रहे तापनि मन्त्रालयले समुदायलाई सुसूचित गराएर महामारी नियन्त्रणका लागि काम गरेको बताइन्। उनले पिसिआर ल्याब नहुँदा तत्कालीन समयमा हङकङमा परीक्षणका लागि पठाउनु परेको स्मरण गर्दै अहिले नेपालमा १०२ पिसिआर ल्याबहरु रहेको जानकारी दिइन्।
डा मिश्राका अनुसार सरकारले २०७७ साल माघ १४ मा खोप कार्यक्रम सञ्चालन गरेकामा हालसम्म तीन करोड ६० लाख ९९ हजार १६९ ले पहिलो र दोस्रो डोज खोप लगाएका छन्। त्यस्तै आठ लाख ४२ हजार ५९० जना बुस्टर डोज खोप लगाएका छन् । उहाँले कूल जनसङ्ख्या ७३ प्रतिशतले पहिलो र ५८ प्रतिशतले दोस्रो डोज लगाएको जानकारी दिइन्।
त्यसैगरी हालसम्म ६४ लाख एक हजार १६ जनामा पिसिआर परीक्षण गरिएको छ भने ११ लाख १३ हजार ५४४ सङ्क्रमित सङ्ख्या रहेको थियो। कोभिड–१९ का कारण ११ हजार ९१३ जनाले ज्यान गुमाएका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ। उहाँले हाल कोभिड सङ्क्रमण सङ्ख्या ओरालो लाग्दै गएको जनाउँदै समुदायस्तरबाटै जनचेतना जगाउन सके आगामी दिनमा महामारीबाट जोगिन सकिने बताइन्।
विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले कोभिडले हरेक मानिसको जीवनशैली परिवर्तनका लागि धेरै कुरा सिकाएको बताए। महामारीलाई नकारात्मक रुपमामात्र लिएर निराश हुनुभन्दा महामारीपश्चात् परिवारको महत्वसँगै पारिवारिक पुनःमिलनमा समेत भूमिका खेलेको कुरालाई पनि स्मरण गर्नुपर्ने बताए। योग ध्यानको महत्वलाई उजागार गर्दै चिकित्सा क्षेत्रमा समेत कोभिड–१९ ले क्रान्ति ल्याएको उनको भनाइ छ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका रणनीतिक साझेदारी र नेतृत्व सञ्चारका वरिष्ठ परामर्शदाता डा सुनुर वर्मा, आपत्कालीन कार्यक्रमका प्रमुख डा आलिसानगोकोटानो, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना केन्द्रका निर्देशक सुनिलराज शर्मा, मेडिकल अफिसर खोप कार्यक्रमका डा विनोद बुरा र मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख श्री सागर दाहाल लगायतले कोभिड–१९ को समयमा प्रदेशसभाको भूमिका, सामुदायिक संयन्त्रको स्थापना, जनस्वास्थ्यका मापदण्ड, संसद्को भूमिका, मन्त्रालयको रणनीतिक योजनाहरुमा छुट्टाछुट्टै प्रस्तुति राखेका थिए।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव, मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी लगायतले कोभिड–१९ को विषयमा आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशका सचिव लगायतको उपस्थिति रहेको थियाे।

