काठमाडौं- माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कोरोना महामारीको खतरा नाटकीय रूपमा घटेको बताएका छन्। तर, अर्को महामारी आउने निश्चित रहेको पनि उनले बताए।
सीएनबीसीसँग कुरा गर्दै गेट्सले अर्को महामारी आउनुपूर्व नै तयारी गर्नुपर्ने समेत बताए। ‘अर्को महामारी आउन सक्छ र यस पटक अर्को भाइरस हुनेछ। यससँग लड्न आधुनिक मेडिकल टेक्नोलोजीमा लगानी गर्न आवश्यक छ,’ उनले भने।
गेट्सले दुई वर्षदेखि फैलिएको कोरोना भाइरसका कारण विश्वको जनसंख्यामा धेरै तहमा प्रतिरोधात्मक क्षमता विकास भएको समेत बताए। यसै कारणले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम पनि कम भएको उनको दाबी छ।
‘यो महामारी वृद्धवृद्धा, मोटोपन र मधुमेहबाट पीडित मानिसहरूका लागि बढी खतरनाक थियो। तर, अब यो जोखिम कम भएको छ,’ उनले भने,‘यो प्रतिरोधात्मक क्षमता को कारण हो।’
उनले संक्रमण रोक्नका लागि खोपको वितरण बढाउनपर्नेसमेत बताए। अहिले विश्वव्यापी जनसंख्याको ६१।९ प्रतिशतले कोरोनाविरुद्धको खोपको कम्तीमा एक डोज पाएका छन्।
गेट्सले खोपलाई भविष्यमा अझ छिटो वितरण गर्न सुनिश्चित गर्नुपर्ने बताए। साथै यसमा लगानी गर्न सरकारहरूलाई आग्रह गरेका छन्।