काठमाडौं- नेपाल स्वयंसेवी रक्तदाता समाजको काठमाडौं महानगरपालिका १३ वडा नगर समिति गठन भएको छ। महानगरको कालिमाटी क्षेत्रमा पर्ने १३ नं वडामा शनिबार भएको भेलाले स्वयंसेवी रक्तदाता निरु महर्जनको अध्यक्षतामा नगर समिति गठन गरेको हो।
नवगठित नगर समितिको उपाध्यक्षमा प्रशान्त डंगोल, सचिवमा विलजा महर्जन र कोषाध्यक्ष सुजिन डंगोल रहेका छन्। सदस्यहरूमा सुसेन महर्जन, रोमन नेपाली, कृति डंगोल रहेका छन्। समितिको कानूनी सल्लाहकारको रुपमा राम शरण डंगोल, सीता क्षेत्री खड्का, रिवेश महर्जन रहेका छन्।
नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले खादा पहराई बधाई तथा शुभकामना दिएका थिए।
सो अवसरमा उनले स्वयंसेवी रक्तदाताहरूको हकहित र रक्तदान कार्यक्रम आयोजक संघसंस्थाहरूबीच आपसी समन्वय कायम गर्दै पीडित पक्षलाई उपचारका क्रममा आवश्यक रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भन्ने उद्देश्यले स्वयंसेवी रक्तदाताहरू संगठित हुने सिलसिला चलिरहेको बताए।