काठमाडौं- प्रजातन्त्र दिवसको अवसर पारेर देशभर रहेका नौ संस्थाहरुको फिजियोथेरापी रिह्यबिलिटेसन सेन्टर एसोसिएसन नेपाल (प्राण) निर्माण गरिएको छ।
प्राणको संस्थापक अध्यक्षमा हरि कुमार लम्साल चयन भएका छन्। त्यस्तै अन्य पदाधिकारीमा उपाध्यक्ष जगदीश खनाल, महासचिव, समीद कातिला श्रेष्ठ, सचिव राजेश महत र कोषाध्यक्षमा दीक्षा जोशी रहेका छन्। त्यस्तैगरी सदस्यहरूमा विवेक पौडयाल, अशोक मणि रिमाल, कविन सापकोटा र अंगिरा थापा रहेका छन्।
घोषणा कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरु सहित पुनर्स्थापनाका विज्ञहरुको उपस्थिती थियो।
भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवा संचालन गरिरहेका संस्थाहरु एकआपसमा संगठित भई प्राण निर्माण गरिएको हो। संस्थाले पेशागत एवम् व्यवसायिक ऐक्यवद्धता कायम गर्न, पेशागत तथा व्यवसायिक हकहितको संरक्षण तथा प्रवद्र्धन गर्न, भौतिक चिकित्सा तथा पुनस्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित वनाउँदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्य राखेके संस्थापक अध्यक्ष हरि कुमार लम्सालले बताए।
देशभर फिजियोथेरापी पुनर्स्थापना सेवा संचालन गरिरहेका १५ शय्या भन्दा बढी क्षमताका संस्थाका सञ्चालकहरुको काठमाण्डौंमा सम्पन्न राष्ट्रिय भेलाले सर्वसहमतिमा संघको विधान पारीत पनि पारित गरेको छ।
अध्यक्ष लम्सालले सेवा संचालन गर्न सरकारले उचित मापदण्ड निर्माण गर्न तथा त्यसलाई लागू गर्ने कार्यमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूहरुतयार रहेको बताए।
स्वास्थ्य सेवाका अन्य विधा जस्तै यस विधालाई पनि मान्यता प्रदान गरी जनताको स्वास्थ्यप्रतिको हक सुरक्षित गर्न आवश्यक पहलका लागि नेपाल सरकार तथा अन्य सम्वन्धित निकाय समक्ष अनुरोध गर्न काम गर्ने, जनस्तरमा जानकारीमूलक कार्यक्रमहरु संचालन गर्ने, पुनर्स्थापनाका अन्य सॅस्थाहरुसंग हातेमालो गर्दै एक जुट भई सामुहिक हक हितको निमित्त काम गर्ने संघका महासचिव समिद कतिला श्रेष्ठले बताए।