काठमाडौं- स्वास्थ्य मन्त्रालयले हाल बूस्टर मात्रा खोप दिइरहेको छ। बुस्टर मात्रा दिन थालेपछि आफूले पहिले लगाएको खोप नपाउँदा अर्को लगाउन मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा धेरैको रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोभिशिल्ड र एस्ट्रजेनेका खोपको बनावट एउटै हो। त्यसैले एस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन। तर कोभिशिल्ड वा एस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस गरेको छैन।
जोन्सन एन्ड जोन्सन खोपको साटो बुस्टर मात्रामा कोभिशील्ड, मोडर्ना, आस्ट्राजेनेका वा फाइजर खोप दिन सकिने छ। विशेषगरी नेपालमा अहिले जोन्सन एन्ड जोनसनको जोन्सन खोप नपाइएको हुँदा त्यसको साटो कुन खोप लगाउने भन्ने धेरैतिर अन्योल देखिएको बताइएको छ।
तर मन्त्रालयका अधिकारीहरूले त्यसलाई स्पष्ट गर्दै उक्त खोपको साटो अन्य खोप लगाउन मिल्ने बताएका छन्। स्वास्थ्य सेवा विभागले बुधवार सबै जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्राचार गर्दै जोन्सन खोपको साटो बूस्टर मात्रामा कोभिशील्ड, मोडर्ना, एस्ट्राजेनेका वा फाइजर खोप दिन सकिने जनाइसकेको छ।
सरकारले यसअघि पूर्ण खोप लगाएका मानिसलाई उसले लगाएको खोप भन्दा फरक खोप ‘बुस्टर डोज’ का रुपमा दिने निर्णय समेत गरेको छ। सरकारले यसरी पहिला लगाएको खोप भन्दा फरक खोप दिने भनेपछि त्यसलाई लिएर केही शंका पनि उत्पन्न भएका थिए।
