काठमाडौं– चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस, नर्सिङ, फार्मेसी लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।
आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले आयोगले चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा आगामी चैतको मध्यतिर हुने जानकारी दिएका हुन्।
एकीकृत प्रवेश परीक्षाका लागि आयोगले फागुन ६ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो।
कोइरालाका अनुसार २० हजार भन्दा बढीले चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा दिन आवेदन दिइसकेका छन्।
आयोगले कलेजहरुको सिट निर्धारण, प्रवेश परीक्षाका अन्य प्रक्रिया लगायतका कार्य गरिरहेको छ।
चैत मध्यसम्ममा प्रवेश परीक्षा सञ्चालन गर्न फागुन अन्त्यसम्म परीक्षा तालिका सार्वजनिक गरिने कोइरालाले जानकारी दिए।