दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा विकास लामिछानेले कार्यभार सम्हालेका छन्। बुधबार प्रतिष्ठान पुगेर डा. लामीछानेले कार्यभार सम्हालेका हुन्।
नवनियुक्त उपकुलपती लामीछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि, अस्पतालका उप निर्देशक डा. एन्जिलिका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारीले स्वागत गरेका थिए। सो अवसरमा बोल्दै उपकुलपति लामीछानेले आउने चार वर्षभित्र दाङमा एमबीबीएसको पढाई सुरु गर्ने प्रतिवद्धता जनाएका छन्।
उनले सबैको सहयोगमा नै अस्पताललाई अघि बढाउन आफू तयार रहेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि पहल गर्ने बताए। प्रतिष्ठानका कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा घोराही १० नारायणपुरका डा लामिछानेलाई हिजो मात्रै नियुक्त गरेका थिए।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन जनाको नाम सिफारिस गरेका थिए।
सिफारिस समितिले डा ऋषिकेश नारायण श्रेष्ठ, डा विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो।
प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये समितिले तीन जनालाई छनोट गरेर सिफारिस गरेको थियो।