काठमाडौं- कोभिड महामारीको कारण चीनबाट फर्केका २०१५ र २०१६ ब्याचका मेडिकल विद्यार्थीहरुले नेपालमै इन्टर्नसिपको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ध्यानाकर्षपत्र बुझाउँदै उनिहरुले पुस १४ गते मन्त्रिपरिषदको बैठकबाट २०१५ र २०१६ सालमा भर्ना भई चीनको विभिन्न विश्वविद्यालयबाट आफ्नो सैद्धान्तिक अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई नेपालमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्नसिपका लागि व्यवस्थापन गर्न निर्णय भएपनि त्यो कार्यान्वयन नहुँदा आफूहरु मर्कामा परेको बताएका छन्।
'चिकित्सा शिक्षा आयोग लगायतका सरोकारवाला निकायहरुलाई यथाशिघ्र कार्यदल गठन गरी हाम्रो समस्याको समाधान गर्न हामीले बारम्बार निवेदन गरेकै हौ,' उनिहरुले भनेका छन्, 'त्यस पश्चात पनि हामीले आजको दिनसम्म आशाजनक एवम् विद्यार्थीको हितमा सरकार पक्षबाट केही कार्य अगाडि बढाइएको देखिएन।'
उनिहरुले २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुको इन्टर्नसिप सम्बन्धित चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलको दिशानिर्देशन अनुसार ढिलासुस्ती नगरी उचित समय अवधि (बढीमा १८ महिना) हुनेगरी व्यवस्थापन कार्यान्वयन गर्न पनि माग गरेका छन्।