काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा गत वर्ष स्पाइनल इन्जुरी, हेड इन्जुरी र बोन क्यान्सर भएका ७५५ जना विपन्न नागरिकले २ करोड ९० लाख बराबरको सेवा लिएका छन्।
आर्थिक वर्ष २०७७/७८ मा स्पाइनल इन्जुरी, हेड इन्जुरी र बोन क्यान्सर भएका ७५५ विपन्न नागरिकले २ करोड ९० लाख बराबरको सेवा लिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा प्रमोद जोशीले बताए।
ट्रमा सेन्टरको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा मेसु जोशीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म १ करोड २० लाख सोधभर्ना भुक्तानी प्राप्त भएको जानकारी दिए।
ट्रमा सेन्टरमा हालसम्म जनआन्दोलन र मधेश आन्दोलनमा घाइते तथा अपाङ्गता भएका ३५० जनाले करिब ८ लाख बराबरको उपचार सेवा लिएका छन्। ‘ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि पुनःस्थापना एवं हेरचाह निर्देशिका २०६८’ मा भएको व्यवस्था अनुसार अस्पतालले सेवा दिदै आएको छ। घाइतेको निर्धारण भएको वर्गीकरण र सम्बन्धित कागजातका आधारमा सेन्टरले उनीहरुलाई औषधि उपचार सेवा दिने गरेको छ।
ट्रमा सेन्टरबाट चालु आर्थिक वर्षको ६ महिनामा ३९ हजार ७१ ओपिडीसहित ६९ हजार ३६ जना बिरामीले सेवा लिएका छन्।
१० हजार २८२ जनाले इमरजेन्सी, ३९ हजार ७१ ले ओपिडी, २ हजार २४८ ले आइपीडी, २ हजार ७०३ जनाले सर्जरी सेवा लिएका छन्। यस्तै, सामाजिक सेवा इकाईबाट सेवा लिनेको संख्या ५ हजार १५६ जना छन् भने ८ हजार ९७१ जनाले बीमा अन्तर्गत सेवा लिएका छन्।
नेपालमा सडक दुर्घटनामा मृत्युदर प्रति दश हजार सवारी साधनमा १७ जना रहेको उनले बताए। नेपालमा मृत्युका कारणमध्ये सबै उमेर समूहमा गरी चोट पटक चौथो कारण रहेको उनले बताए।
ट्रमा सेन्टरमा हाल १५० साधारण शय्या, ३२ आकस्मिक, ७ अपरेशन पश्चात बिरामीलाई राखिने पोस्टअप वार्ड, ११ आइसीयू गरी कुल २ सय शय्या सञ्चालित छन्। सेन्टरमा ६६ चिकित्सक, १७० नर्स, ६१ प्राविधिक कर्मचारी, ११ प्रशासनीक कर्मचारी र अन्य १४५ गरी ४५३ जना कर्मचारीहरु कार्यरत छन्।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बुद्धिचाल, टेबल टेनिस, ब्याडमिन्टन लगायत खेलकुदमा विजयी हुने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिएको छ। साथै अस्पताललाई विभिन्न माध्यमबाट सहयोग गर्ने विभिन्न दाताहरुलाई समेत सम्मान गरिएको छ।
१० रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालको औपचारिक उद्घाटन २०७१ साल मंसिर २ गते भएको थियो।